काठमाडौं । वरिष्ठ अधिवक्ता एवं कानुनविद् ध्रुवलाल श्रेष्ठले सम्पत्तिको वैध स्रोत नभएका अकुत सम्पत्तिवाल जोकोहीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान दायरामा ल्याउन माग गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै उहाँले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्नेमा जोड दिनुभयो , सरकारले परिपक्व ढंगले अनुसन्धान अघि बढाए शीर्ष नेतादेखि हरकोही पक्राउ पर्ने उहाँको दाबी छ ।
भैंसेपाटी र ललिता निवास जग्गामा शीर्ष नेतामाथि आशंकाअधिवक्ता श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवास (क्वार्टर) निर्माणका लागि सरकारले अधिग्रहण गरेबाहेकको जग्गामा नेकपा एमालेका नेता विष्णु पौडेल र वामदेव गौतमले घर बनाएको आशंका व्यक्त गर्नुभएको छ। पौडेलले भैंसेपाटीको बाँकी सरकारी जग्गा र बालुवाटारको ललिता निवास प्रकरणसहित धेरै मुद्दाहरूमा गडबडी गरेको आरोप लगाउँदै उहाँले यस विषयमा आफूले थप अध्ययन गरिरहेको खुलासा गर्नुभयो।
कुराकानीका क्रममा श्रेष्ठले वर्तमान बालेन्द्र शाहको सरकारले गरेको एक नियुक्तिमाथि कडा आपत्ति जनाउनुभयो । ललिता निवास जग्गा प्रकरणमा भूमाफियाको पक्षमा निर्णय गर्ने तत्कालीन मालपोत कार्यालय प्रमुख पदमनिधि सोतीलाई सरकारले भूमिसुधार व्यवस्थापनमा नियुक्त गर्नु गलत भएको उहाँको तर्क छ।
यसका साथै पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीले समेत भूमाफियाकै पक्षमा मुद्दा सदर गरेको गम्भीर आरोप उहाँले लगाउनुभयो । सरकारी जग्गा तीव्र रूपमा अतिक्रमण भइरहेको प्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले वर्तमान सरकारले देश दोहन गर्नेहरूलाई छोड्न नहुने बताउनुभयो । यद्यपि, अनुसन्धान प्रक्रिया पूर्वाग्रही र प्रतिशोधपूर्ण हुन नहुनेमा उहाँले सचेत गराउनुभएको छ। यदि पूर्वाग्रही ढंगले अनुसन्धान गरिए भोलि यो सरकार आफैँ कानुनी कारबाहीमा पर्न सक्ने चेतावनी दिँदै उहाँले विज्ञ र सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग निष्पक्ष सुझाव लिएर संयमित रूपमा अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।