काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । आगामि मङ्सिर २० गते बस्ने गरी आजको बैठक सकिएको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यसअघि सचिवालयमा प्रस्तुत गरेको प्रस्तावका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको थियो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष अनुपस्थित रहेका कारण बैठक केहीबर मात्रै बसेर औपचारिकतामै सीमित भएको हो ।
आज दिउँसो १ बजेका लागि निर्धारण गरिए पनि एक घण्टा ढिला हुने भनिएको बैठक करिब डेढ घण्टापछि सुरु भएको थियो ।
यसअघि ओलीले बैठकको औचित्य नभएको भन्दै छलफलमा सहभागी नहुने अडान लिनुभएको थियो । तर, बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको रणनीतिक बैठकमापछि भने केही समयका लागि भए पनि बैठकमा सहभागी हुने बताइएको थियो । तर, अन्त्यमा उहाँ सहभागी हुनुभएन ।
यसैबीच, बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बिहीबार (मंसिर १८) गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक २१ गतेका लागि सार्ने निर्णय गरेको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी अध्यक्षद्वयले सचिवालयमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि थप छलफल आवश्यक भएकाले स्थायी कमिटी बैठक सार्ने सहमति भएको हो ।