Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको ‘दुर्योधनशैली’ पार्टी विभाजनको कारण बन्दै

ओलीको ‘दुर्योधनशैली’ पार्टी विभाजनको कारण बन्दै

  • उपेन्द्र झा
  • बुधवार, मंसिर १७ २०७७

  • 1.4K
    SHARES

  • ओलीको ‘दुर्योधनशैली’ पार्टी विभाजनको कारण बन्दै

    विगतको चुनावमा तत्कालिन एमालेले माओवादी केन्द्रसँग तालमेल गरेपछि प्रतिनिधि सभामा सोंचेभन्दा धेरै सिट ल्यायो । माओवादी केन्द्रसँग एकीकरण गरेपछि त उ झण्डै दुईतिहाई नजिक पुग्यो । त्यसपछि शक्तिशाली र स्थिर सरकार बनाउन सफल भयो । सम्भवतः नेपाली राजनीतिमा यति शक्तिशाली सरकार बनेको सायद पहिलो पल्ट हुनुपर्छ । राजनीतिभन्दा कूटनीतिमा खप्पिस प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको घटनाबाट आफ्नो कुशलता प्रदर्शन गरेकै हो । एकथरिका लागि यो धेरै ठूलो विजय थियो भने अर्को थरिको लागि दुर्भाग्य । अनुकूल अवसरको फाइदा लुट्दै ओलीले शक्तिशाली सरकार बनाएर सम्राट जस्तो अहंकारका साथ पदासीन भए । पार्टी शक्तिशाली भएपछि शक्तिको मद बढ्नु स्वाभाविक रहे पनि यसलाई सन्तुलित गरि विवेकका साथ सरकार चलाउनुको सट्टा दुर्योधन शैलीमा पार्टी र सरकार दुवै चलाउन थाल्दा ओली दुबै ठाउँमा आलोच्य हुन पुगेका छन् ।

    Upendra Jha.jpg

    अहिले नेकपामा ओलीगुट र प्रचण्डगुटबीच ठूलो रडाको मच्चिएको छ । तत्कालीन एमालेका शीर्ष नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम आदि प्रचण्डतिरबाट वकालत गरिरहेका छन् । हुन त वामदेवलाई फकाउन ओली लागिपरेका छन् । तर वामदेव बैठकबाटै समस्याको छिनोफानो हुनुपर्ने पक्षमा देखिन्छन् । प्रचण्डले आफूलाई लगाइएको आरोपको ओलीले जवाफ दिइसकेका छन् । यद्यपि, त्यसले पार्टीभित्र समाधान दिने अवस्था देखिन्न ।

    ओली सचिवालय बैठक टार्ने कोसिस गरिहेका छन् । यसले ओलीको पार्टी विभाजनको अडान (‘आ–आफ्नो बाटो लाग्ने’) कायम नै देखिएको छ । ओलीले आफ्नो अनावश्यक दम्भपूर्ण हठ छोडेर बैठकहरुले गरेको निर्णय अनुसार हिड्न मन्जुर गरेमा भने सम्भवतः नेकपाको विभाजन रोकिने छ ।

    भारतलाई गाली गरेर राष्ट्रवादी शक्तिलाई संगठित गरि भोट लिनु, नेपाली काँग्रेसको पनि मत लिएर किनारा लगाउनु, “संविधान संशोधनबिना सरकारले चुनाव गरायो भने महाभारत हुन्छ”, “देश विखण्डनमा जान्छ”, “कुनै पनि हालतमा चुनाव हुन दिंदैनौं” जस्ता क्रान्तिकारी नारा दिँदै चुनाव बहिष्कार गर्ने तत्कालिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव तथा राजपालाई सजिलै बिनाशर्त चुनावमा पठाएर आफ्नो समर्थनमा ल्याउनु, माओवादीलाई एमालेसँग एकीकरण गराउनु आदि ओलीका विगतका उल्लेखनीय सफलता थिए । ओलीका उल्लेखित कदम राज्यसत्ता हितकै लागि थिए ।

    पछिल्लो समयमा ओलीलाई चीनको सशक्त सहयोग रह्यो । जसले गर्दा उनी कदम–कदममा सफल हुँदै गए । जसबाट उनका शक्तिमद पनि सोहीअनुसार चढ्दै गयो । ओली प्रधानमन्त्रीको रुपमा आएपछि उनको विजयोन्माद चरम सीमामा पुग्यो । ओलीको मनपरीतन्त्र निर्वाध बढ्न थालेपछि अरुभन्दा बढी पार्टीकै सहकर्मीहरुले ओलीको विरोध शुरु गरे । विस्तारै आमजनतामा ओलीको अलोकप्रियता छर्लङ्ग हुँदै गयो ।

    Upendra Jha.jpg

    शक्तिशाली सरकारको प्रधानमन्त्री तथा दुर्योधन जस्तो अहंकारका साथ जब ओली राज्यसत्तालाई आफ्नो मनोकांक्षा अनुरुप चलाउन थाले अनि ठूला–ठूला आन्दोलन सडकमा देखा पर्न थाले । “म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न” भन्ने प्रधानमन्त्री ओली अहिले भ्रष्टाचारीलाई नै संरक्षण गर्नतिर लागेका छन् । भ्रष्टाचारीविरुद्ध कदम चाल्दा राज्यसत्ताको कोपविभाजन हुने भएपछि उनले यथास्थितिलाई नै स्वीकार गरेको देखिन्छ । राज्यसत्तालाई छुने बित्तिकै झट्का लाग्ने भएपछि गर्न चाहेका जनपक्षीय कामहरु सबै थला परे । क्रमिक रुपमा ओलीको सरकारले गर्ने कामकारवाहीप्रति उदासीनता बढ्न थाल्यो । प्रधानमन्त्री ओलीको निष्क्रियता बढेपछि देशमा भ्रष्टाचारका घटनाहरु तीब्र रुपमा बढ्न थाल्यो ।

    सुरक्षण छापाखाना खरीदमा बहालवाला सञ्चारमन्त्री (गोकुल बाँस्कोटा)को टेप प्रकरण, नेकपाका महासचिव विष्णु पौडेल समेतको नाम बालुवाटार ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको कारवाहीमा नाम सार्वजनिक हुँदा प्रधानमन्त्रीको मर्यादालाई बिर्सेर ओलीले तिनिहरुकै पक्षमा वकालत गरेपछि यिनको साख यहींबाट घटेको हो । शक्तिशाली सरकारको दायित्व के हुनु पर्ने र प्रधानमन्त्री के गर्न थालेको भन्ने विषयले बुद्धिजीवी मात्र होइन, पार्टीका सहकर्मीलगायत आमजनता पनि असन्तुष्ट भएका छन् । त्यसपछिका दिनमा यिनलाई दायित्वबोध गराउन पार्टीले अंकुश लगाउन खोज्दा ओलीले त्यसलाई पनि टेरेनन् । पार्टी अध्यक्ष र सरकार प्रमुख पनि आफै भएपछि दुइटै संस्था मेरो हो यसमा मलाई अंकुश लगाउने अरु को हुन् भन्ने अहंकारले यिनको निरंकूशतालाई छर्लङ्ग पारिदियो ।

    पार्टीको आचार संहिताविपरीत ओलीको निरंकूता प्रदर्शनलाई नियन्त्रण गर्ने उद्देश्यले पार्टीले दुवै पदबाट राजीनामा माग्यो । जसले गर्दा पार्टीमा भुसको आगो त ज्वालामुखी जस्तै दन्किन थाल्यो । बडो परिश्रमबाट आपूmले खडा गरेको अहंकारको भव्य महलमा आफ्नै सहकर्मीले डोजर लगाएपछि सपनाको महल धाराशायी हुने भयले ओली पार्टीको चिन्ता छाडेर आफ्नो अहंकारको महल बचाउने चेष्टामा लागे जसले गर्दा यिनले नेपाली जनताबाट प्राप्त गरेको सबै सहानुभूति खरानी भयो ।

    Upendra Jha.jpg

    त्यसपछि ओलीले दिनैपिच्छै अनावश्यक र महत्वहीन अभिव्यक्तिहरु दिन शुरु गरे । एक दिन – “कर्णालीका मन्त्रीहरु हटाएमा त्यही संख्यामा केन्द्रमा पनि मन्त्री हटाउँछु ।” दोश्रो दिन – “तत्काल बैठक बस्न आवश्यक छैन । बहुमतको बलमा बैठक बसाले त्यस्को निर्णय अस्वीकार गर्छु र त्यसको बदलामा ठूलै एक्शन लिन्छु ।”

    तेस्रो दिन – “मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । यसकारण म राजीनामा दिनेवाला छैन ।” चौथो दिन – “अविश्वासको प्रस्ताव कहाँ–कसरी तयारी भइरहेको छ, जानकारी छ । म ती सबै सामना गर्छु, प्रतिरोध गर्दै चकनाचुर पार्छु ।” पाँचौं दिन – “पार्टीभित्रैका साथीहरु सरकार असफल पार्ने र पार्टी फुटाउने काममा लाग्नुभएको छ । विवाद, गुटबन्दी र विघटनको बाटो छोड्नुस् । त्यसपछि सल्लाहबाटै बैठक हुन्छ ।”

    छैठौं दिन – “दोस्रोपटक किड्नी फेरेपछि त सेता जुँङ्गा पनि काला भए । जोश बढिरहेको छ । कपाल पनि कालै भइरहेको छ ।” सातौं दिन – “बैठक बसालेर भिड्न खोज्नु भएको हो भने भिडौं । म तयार छु । पहिला पनि भनेको छु, एउटा कुनै एक्शन लिनु भयो भने म त्यसभन्दा ठूलो एक्शन लिन्छु । आठौं दिन – “म मानिस सानो र खुट्टाहरु समेत स–साना भए पनि अझै देशको कार्यभार बोक्न सक्ने अटल विश्वास र क्षमता छ ।” कार्तिक १६ गतेदेखि २६ गतेसम्मको यो अर्थहीन अभिव्यक्ति दिनुभन्दा पार्टीको नियम कानून आचार संहिता मानेर असन्तुष्ट पक्षलाई सहमतिमा लिएर अगाडि बढ्दा न ओलीलाई राजीनामा दिनुपर्ने अवस्था आउँछ न कुनै पहाड खस्ने सम्भावना छ । बरु ओलीको निरंकूशताले पार्टी विभाजन रेखाकोरी दिएको स्पष्ट हुन्छ ।

    असन्तुष्ट पक्षले वाइडबडी खरीद, छापाखाना खरीद, सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्सको शंकास्पद कारोबार, चिनी आयात घोटाला, ओम्नी समूहसँग मिलेर स्वास्थ्य उपकरण खरीदमा अनियमितता, राजस्वका दररेट परिवर्तन आदिमा सरकारको संलग्नता रहेको आरोप लगाएको छ ।

    ओली सरकारलाई हत्या–हिंसा, भ्रष्टाचार, दूराचार, व्यभिचार र कमिशनखोरीलाई बढावा दिएको आरोप लागेको छ नै त्योबाहेक पनि उनलाई गुट सञ्चालन गरि पार्टी फुटाउन खोजेको गम्भीर आरोप पनि लागेको छ । र, यो सत्य पनि हो । माओवादीलाई पार्टीबाट बाहिर गर्ने नियतले प्रदेश प्रदेशका तत्कालीन जबज साथीहरुलाई संगठित पार्नुको अर्थ के ? “आफ्नो–आफ्नो बाटो लागौं” ओलीको यो भनाइको अर्थ के हो ? अर्थात् ओलीले माओवादीलाई पार्टीबाटै अलग गर्ने आन्तरिक मनसायकै आधारमा यस्ता अभिव्यक्ति र व्यवहार प्रदर्शित गरिहेका छन् । पार्टी विभाजन भएमा अहिले माओवादीसँग कुम जोडिरहेका माधव नेपाल, झलनाथ खनाल जस्ता तत्कालीन एमालेका शीर्ष नेता माओवादीसँग जान्छन् त्यो अहिलै भन्न सकिने अवस्था छैन । यद्यपि, उनीहरुलाई ओलीले सोहीअनुसारको व्यवहार गर्ने निश्चित छ ।

    तर ओलीले सोचेका योजनाहरु सफल नहुने सम्भावना पनि छ । ओलीको दोश्रो दिनको “बहुमतको बलमा बैठक बसाले त्यसको निर्णय अस्वीकार गर्छु र त्यसको बदलामा ठूलै एक्शन लिन्छु” अभिव्यक्तिमा बहुमतको झलक आफैंले दिएको कुरा प्रष्ट छ । ओली आफ्नो हठका कारण विध्वंश मच्चाउनेतिर गएभने त्यसको परिणाम उनले मात्र भोग्ने पनि प्रष्ट देखिन्छ । पार्टीमा ओली अल्पमतमा रहेको कुरा आफैंले स्वीकारेका छन् । फेरि, एक्शन लिने कुरा यति सजिलो पनि देखिँदैन ।

    विगतमा आफूले पाएको राजनीतिक सफलतालाई संयोग नभनी आफ्नो पराक्रम ठानेर ओली विजयोन्मादमा रमाइरहेका छन् । अहिले आफ्ना सहकर्मीमाथि एक्शन लिनुभन्दा अपराधी, भ्रष्टाचारी र कोरोना भाइरस मशामारीविरुद्ध एक्शन लिनु वेश हुन्थ्यो कि । संसारमा कीर्तिबाहेक कुनै कुरा शाश्वत छैन । अहंकारले गर्ना धुलोमा बिलीन भएका कतिपय शासक यहीँ कति जिउँदै छन् । त्यही पंक्तिमा उभिने विचार हो भने त भन्नु केही छैन । पराक्रमकै बलमा आएको शक्ति हो भने देश र जनताका लागि प्रयोग गर्नुस् ओलीजी, ठूलो नाम हुन्छ । बिना सरकारको देश महसूस हुनलाग्दा जनताको आस्थालाई बचाउनुस् । (मधेश दर्पण फिचर सेवा)

    Upendra Jha.jpg

    उपेन्द्र झा

     


    बुधवार, मंसिर १७ २०७७०१:०७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij