काठमाडौं। नेपाली रेडियो नेटवर्क आजदेखि दशौँ बर्षमा प्रवेश गरेको छ। विक्रम संवत् २०७३ साल असोज ३ गते संविधान दिवसकै दिन औपचारिक रुपमा प्रसारण आरम्भ गरेको नेटवर्कले सधैँभरी आफुलाई लोकतन्त्रको पक्षमा उभ्याउँदै आएको छ।
स्थापनाको छोटो समयमै विश्वभरका नेपालीबीच लोकप्रिय बन्दै नेपालकै सबैभन्दा ठुलो रेडियो नेटवर्क बन्न सफल यो नेटवर्क अहिले दैनिक ५० लाखभन्दा बढी श्रोताहरुले एकैपटक सुन्ने गरेको विभिन्न सर्वेक्षणहरुले पुष्टि गरेका छन्।
नेटवर्कले अहिलेसम्म देशभरका २०० भन्दा बढी सहयात्री रेडियोमार्फत आधिकारिक रुपमै समाचार बुलेटिन र विभिन्न कार्यक्रमहरु प्रसारण गर्दै आएको छ भने डिजिटल प्लेटफर्ममार्फत पनि आफ्नो व्यापक पहुँच विस्तार गरेको छ।
हाल नेटवर्कअन्तर्गत काठमाडौंमा केन्द्रीत रेडियोको रुपमा रेडियो एनआरएन ९९.१, समाचारमूलक अनलाइन पोर्टल नेपाली नेटवर्क डटकम, फेसवुक तथा युट्युवमा नेपाली नेटवर्क, समय अनलाइन टिभीलगायतका सञ्चार माध्यममार्फत समाचार,बहस,शिक्षामूलक र मनोरञ्जनात्मक सामग्री प्रसारण भइरहेका छन। यिनका अतिरिक्त फेसबुक, टिकटक, युट्युब र अन्य सामाजिक सञ्जालमार्फत पनि नेटवर्कका सामग्री विश्वव्यापी रूपमा पुर्याईदै आएको छ।
नेटवर्कका अध्यक्ष तथा वरिष्ठ पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने ‘नेपाली बहस र जनता जान्न चाहन्छन्‘ जस्ता कार्यक्रमहरू नेपाली रेडियो जगतका सर्वाधिक लोकप्रिय कार्यक्रमका रूपमा स्थापित भएका छन्। हरेक दिन बिहान ५ बजेदेखि राति १० बजेसम्म निरन्तर प्रसारण नेपाली रेडियो नेटवर्कमार्फत प्रत्येक घण्टामा नेपाली खबर समाचार बुलेटिन प्रसारण हुन्छ। साथै, स्थानीय तहको आवाजलाई केन्द्रमा राख्दै नयाँ कार्यक्रम पालिका बहस सुरु गरिएको छ।
नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने समाचार, बहस, कार्यक्रम तथा सम्पूर्ण सामाग्री निष्पक्ष, स्वतन्त्र रुपमा व्यवसायीक पत्रकारितामार्फत र देश, जनता र संविधानको पक्षमा अडिग रहेको दाबी गर्दै नेटवर्कका अध्यक्ष धमलाले आगामी वर्षमा पनि जस्तोसुकै परिस्थिति र चुनौतिको सामना गर्नुपरेपनि व्यवसायीक धर्मबाट पछि नहट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
नेटवर्कले आम जनता र व्यवस्थाको पक्षमा सदैव निष्पक्ष र तटस्थ रुपमा उभिएर सरकारलाई सदैव खबरदारी गर्दै आईरहेकोले नेटवर्कबाट प्रसारित नेपाली खबर र नेपाली बहस आम श्रोताका लागी लोकप्रीय बन्दै आएको दाबी गर्नुभयो । सत्यतथ्य र निश्पक्ष समाचार र सुचनाबाट जनतालाई सुशुचित गर्ने मिडियाको धर्मबाट कहिलै विचलित नहुने उहाँले प्रतिवद्धता जनाउनुभयो।
यस्तै नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले नेटवर्क सधैं पत्रकारिताको मर्म, धर्म र विश्वसनीयतामा अडिग रहेको उल्लेख गर्दै सत्य, तथ्य र निष्पक्षताको बाटोबाट कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाउनुभयो।
त्यसैगरी, नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारीले नवौँ वार्षिकोत्सवको अवसरमा नेटवर्कलाई यहाासम्म ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका सम्पूर्ण श्रोता, सहयात्री रेडियो, विज्ञापनदाता तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि अझ व्यापक समर्थन, सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो।
यस्तै नेटवर्क आजदेखी दशौं वर्षमा प्रवेश गरेको सुखद अवसरमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सञ्चारमाध्यमहरू लोकतन्त्रको अक्सिजन रहेको र यसमा नेपाली रेडियो नेटवर्कले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोले आगामी दिनमा पनि सोही निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।
नेपालको संविधान र लोकतन्त्रको संरक्षण गर्दै जनताको आवाज उठाउन र राज्य तथा विभिन्न निकायका पदाधिकारीहरूलाई जवाफदेही गराउन नेपाली रेडियो नेटवर्कको अनुकरणीय योगदान गरेको स्मरण गर्दै उहाँले सञ्चार माध्यमको विकास र संरक्षण राज्य र नागरिकले गर्नुपर्नेमा जोड दिनुभयो ।
सबैका लागी सुचना भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै विक्रम संवत् २०७३ साल असोज ३ गते संविधान दिवसकै दिन औपचारिक रूपमा सुरु गरिएको नेपाली रेडियो नेटवर्कबाट प्रसारित सामाग्री अहिले नेपालका २ सय बढी रेडियो स्टेसनहरुबाट एकैसाथ प्रसारण हुँदै आएका छन् ।
नेटवर्कबाट प्रसारित समाचार बुलेटिन नेपाली खबर, बहस कार्यक्रम नेपाली बहस र जनता जान्न चाहन्छन्, लगाएतका मनोरञ्जन कार्यक्रमहरु बहुचर्चीत तथा निकै लोकप्रीय बनेका छन् । ताजा एवं सत्यतथ्य, निष्पक्ष र तटस्थ समाचार र नेपाली बहसले नेटवर्कलाई स्थापनाको छोटो समयमै विश्वभर छरिएर रहेका नेपालीहरुको बिचमा लोकप्रीय र नेपालकै सबैभन्दा ठुलो रेडियो नेटवर्कका रुपमा स्थापीत गरेको छ।
आम श्रोता, शुभचिन्तक, विज्ञापनदाता, सहयात्री रेडियो, सहकर्मी, लगाएत सम्पूर्ण सरोकारवालाहरुको माया, सदभाव, सुझाव, सल्लाह र खबरदारीले नेपाली रेडियो नेटवर्कले एक दशक पार गर्न सफल भएको छ । यसप्रति नेपाली रेडियो नेटवर्क परिवार हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि साथ सहयोग र हौसलाको अपेक्षा गर्दछौं।