काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलील दिने कार्यसूची रहेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लिखित जवाफ प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनलाई आरोप पत्र भन्दै ओली पक्षले फिर्ता लिनुपर्ने माग गरेको थियो । तर बहुमत सचिवालय सदस्यलाई साथ लिएर प्रचण्डले बैठक बोलाउने तयारी गरेपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी भइ आफूले पनि लिखित प्रस्ताव ल्याउने भन्दै १० दिनको समय माग गरेका थिए ।
सोहीअनुरुप आज बैठक बोलाइएको हो ।
गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद चुलिएको छ । प्रचण्डले सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँगको छलफल र सहमतिमा उक्त प्रतिवेदन पेश गरेका थिए ।