काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ । उहाँ केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।
विदेशसचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उहाँले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ ।
यसअघि, परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्ने कार्यक्रम छ । शुक्रबार ज्यापु समाजको भवन उद्घाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उहाँ स्वदेश फर्किनु हुनेछ ।
काठमाडौंस्थित भारतीय राजदूतावास स्रोतका अनुसार नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाटको क्रममा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुनेछ