काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले विचार र सिद्धान्त मिल्ने दलहरुसँगको साथ सहयोगबाट आन्दोलनमा अगाडि बढ्ने बताउनुभएको छ ।
राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते नै काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरिरहेका बेला राप्रपाले अलग्गै आन्दोलन घोषणा गरेको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका प्रधानले यहि चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको बताउनुभयो ।
उहाँका अनुसार आगामी वैशाख ७ गतेबाट निरन्तर रूपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ । यसअघि यो एजेण्डामा अरूले गर्ने आन्दोलनमा सहभागी नहुने बताइरहेको राप्रपाले हाल आफ्नो नीति परिवर्तन गरेको हो ।
यसअघि चैत १५ गते गणतन्त्र र राजसंस्था पक्षधर शक्ति प्रदर्शनमा उत्रिने तयारीमा छन् । गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ । यस्तै, यहि चैत १५ गते समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।