काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले वर्तमान सरकार गठनका बेला गरिएका प्रतिवद्धताअनुसार काम भए या भएनन् भनेर मूल्याङकन गर्ने बेला आएको बताउनुभयो ।
संसदका दुई ठुला दल कांग्रेस र एमालेको समिकरणमा बनेको सरकारले जनतालाई निराशा बनाउने अलिकति पनि छुट नभएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहनुभएका नेता खतिवडाको भनाइ छ ।
वर्तमान सरकार गठनपछि राजनीतिक स्थिरता भएको दाबी गर्दै उहाँले देशको विकाश नहुनुमा अहिलेको सरकारमात्रै दोषि नभएको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले जुन गतिमा सरकारले काम गर्नुपर्ने हो त्यो नभएको भने स्विकार गर्नुभयो ।
यस्तै पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने गरी सरकारले कानून ल्याउन लागेको प्रसंगमा नेता खतिवडाले राष्ट्रको सम्पत्ति यसरी दुरुपयोग गर्ने पद्धतीको अन्यत गर्नुपर्ने सुझाव दिनुभएको छ ।
पछिल्लो केहिदिन यता यो विषयमा विरोध भइरहेको छ । सत्तारूढ दलकै नेतादेखि पूर्वप्रशासक र सामाजिक क्षेत्रका अगुवासम्मले आपत्ति जनाएका छन् ।
पूर्वपदाधिकारीलाई आजीवन सुविधा दिने गरी कानून ल्याइए व्यवस्था र शासन प्रणालीकै लागि घातक हुने भन्दै यतिबेला चौतर्फि विरोध भइरहेको हो ।
गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पार्न गृह मन्त्रालयलाई स्वीकृत दिएको हो ।
गृहकै प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएपछि विधेयकको मस्यौदा बनाउने काम भइरहेको छ ।