Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

पुनर्गठन दिवस मनाउँदै विप्लव समूह, यस्तो छ सुरक्षा निकायको प्रतिक्रिया

पुनर्गठन दिवस मनाउँदै विप्लव समूह, यस्तो छ सुरक्षा निकायको प्रतिक्रिया

  • आइतवार, मंसिर ७ २०७७

  • 1.3K
    SHARES

  • पुनर्गठन दिवस मनाउँदै विप्लव समूह, यस्तो छ सुरक्षा निकायको प्रतिक्रिया

    काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सातौं पुनर्गठन दिवस मनाइरहँदा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

    प्रहरीको विशेष ब्युरोले विप्लव समूहका नेतामाथि निगरानी बढाएको छ भने सडकमा समेत सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले पनि चेकजाँच र प्रहरी उपस्थितिमा कडाइ गरिएको बताउनुभयो ।

    सशस्त्र प्रहरीले पनि ठाउँ–ठाउँमा टोली परिचालन गरेको छ । सादा पोशाकका टोली पनि परिचालित छन् । राष्ट्रिय अनुसन्धान विभागले पनि समूहका सम्भावित गतिविधिमाथि निगरानी बढाएको छ ।

    विप्लव समूहले आफ्नो पुनर्गठन दिवस ८ मंसिरसम्म देशभर प्रदर्शन सभा र उत्सव मनाउने घोषणा गरेको छ । सोक्रममा कुनै अप्रिय एवं आपराधिक क्रियाकलाप पनि हुनसक्ने विश्लेषणसहित सुरक्षा व्यवस्था कडा पारिएको हो ।

    यसैबीच, ब्युरोले अर्थ विभागका सदस्य प्रेम दर्नाल ‘विकल्प’ र सञ्जिव नेपाली ‘सुवर्ण’लाई समेत पक्राउ गरेको छ । समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आज एक बिज्ञप्ति जारी गर्दै दुवैको रिहाइको मागसमेत गरेका छन् ।

    त्यस्तै, मोरङ प्रहरीले प्रतिबन्धित विप्लव समूहका कम्पनी सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ । मोरङको उर्लाबारीबाट प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपासँग आवद्ध ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गो शेर्पालाई पक्राउ गरेको हो ।

    पक्राउ परेका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर रहेको प्रहरीको दाबी छ ।

    पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा–पम्प्लेटलगायत लडाकुका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो ।

    यसअघि ललितपुरबाट विप्लव समूहकै केन्द्रीय अर्थ विभागका अध्यक्ष तथा ब्युरो सदस्य प्रेम दर्नाल र अर्थ विभागका सदस्य सञ्जीव नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


    आइतवार, मंसिर ७ २०७७०६:४२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij