काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले सरकारविरुद्ध आन्दोलन गर्ने बताउनुभएको छ । जनताका समस्याहरु उठाउने, संविधान संशोधनको नाममा गरिएको नाटकको प्रर्दाफास गर्ने नेता लोहनीको चेतावनी रहेको छ ।
यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यमा आफूहरुको समर्थन रहेकोसमेत उहाँको भनाइ छ । पूर्वराजाको सन्देशले राजावादी उत्साहित भएका छन् भने परिवर्तन पक्षधर तरंगित बनेका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लोहनीले देशमा बसेको सामन्तवादको जगलाई हटाएर परिवर्तनको नयाँ श्रृङखला ल्याउने स्पष्ट पार्नुभयो । जनताको नाममा जनताको शोषण भइरहेको दाबी गर्दै उहाँले वर्तमान सरकारले जनताको तिरस्कार गरिरहेको आरोप समेत लगाउनुभयो ।
प्रजातन्त्रको नाममा प्रजातन्त्रलाई ध्वस्त पार्ने काम भइरहेको विरुद्धमा आफूहरु अब शसक्तरुपमा आन्दोलनमा उत्रिने नेता लोहनीले दोहो¥याउनुभयो । खुलाआम भ्रष्टाचार गर्ने सरकारविरुद्ध अब जनता जाग्नै पर्नेमा समेत उहाँले जोड दिनुभयो ।
भ्रष्टाचार र बेथितीको चाङ बढ्दा पनि आफ्नालाई बचाउने पोस्ने र एकअर्कालाई आरोप लगाउने बाहेक अरुमा ध्यान नपु¥याउने सरकारपक्ष र प्रतिपक्षले देशलाई खोक्रो बनाउँदै लगेको नेता लोहनीको टिप्पणी रहेको छ ।