काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरुलाई ऊर्जा उद्यमीहरुलाई दुःख दिने काम बन्द गर्नुपर्ने बताउनुभएको छ ।
आइतवार उहाँकै निवास बुढानिलकण्ठमा भएको भेटमा देउवाले वनका कारण जलविद्युत मात्रै नभएर अरुपनि विकास निर्माणको कार्यमा अवरोध आइरहेको बताउनुभयो ।
भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले १५ खर्ब रुपैयाँ लगानी भइसकेको र ६५ लाख सर्वसधारण लगानीकर्ताले लगानी गरिसकेको क्षेत्रमाथि प्रहार भइरहेको भन्दै ऊर्जा उद्यमीहरुका समस्या समाधानका लागि देउवाको ध्यानाकर्षण गराउनुभयो ।
अध्यादेश ल्याएर संसदबाट अनुमोदन गराइसकेको विषयलाई अदालतबाट खारेज गर्दा ४५ हजार मेगावाट बराबरका जलविद्युत आयोजना प्रभावित भएको भएको कार्कीले बताउनुभयो । पछिल्लो समय ७४ वटा कम्पनीको सार्वजनिक निष्काशन रोकिएको र विद्युत ऐन २०४९ मा ५० वर्ष दिइएको जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि प्रस्तावित विद्युत विधेयकमा ३५ वर्ष मात्र राखिएकोले यसलाई सच्याउने विषयमा देउवाको पहलकदमी आवश्यक रहेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो ।