काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
अर्थ मन्त्रालयमा आयोजित अर्थ मन्त्रालय मातहतका निकायहरूमा प्रयोग भइरहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धीमा छलफलमा उहाँले सहज सेवा प्रवाहका निम्ति सूचना प्रविधिको आवश्यक भएको बताउनुभयो ।
वर्तमान अवस्थामा सेवाप्रवाहलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँदै अर्थमन्त्री पौडेलले सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने र आवश्यक जनशक्ति तथा प्राविधिक क्षमता विकास गर्न निर्देशन दिनुभएको छ । सवै निकाय सुचना र प्रविधीमा अब्बल भएमात्रै गणस्तरीय सेवा प्रवाह हुने अर्थमन्त्री पौडेलको भनाई थियो ।
बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलगायत निकायका अधिकारीहरूको सहभागिता थियो । सहभागि निकायका अधिकारीहरुले सूचना प्रविधिको प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको माग बढ्दै जाने तर त्यस्ता जनशक्तिलाई संस्थाभित्र टिकाई राख्न न्यून सेवासुविधाका कारण चुनौतीपूर्ण रहेको बताएका छन् ।