काठमाडौं । नेकपा एमालेका नेता डाक्टर राजन भट्टराईले वर्तमान सरकार आएपछि देश सकारात्मक दिशातर्फ उन्मुख भएको बताउनुभएको छ ।
विगतको सरकार र अहिलेको सरकारको नेतृत्वको अवस्थलाई तुलना गरेर हेर्दा पनि धेरै क्षेत्रमा सकारात्मक सुधार भएको नेता भट्टराईले दाबी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले विपक्षी दलले सरकारलाई ढाल्न अनेकौ कोशीश गरिरहेको आरोप लगाउँदै ती सबै कोशीश असफल हुने र सरकार आगामी २०८४ सम्मै रहने विश्वास व्यक्त गर्नुभयो ।
आफू सरकारमा हुँदा केहि नगरेका माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले दिनदिनै सरकार असफल, अप्राकृतिक भयो, आज र या भोलि फुट्छ भनेर हिड्नु अलिकति पनि नसुहाएको उहाँको टिप्पणी छ ।
सत्तामा रमाउन बानी परेका प्रचण्डलाई सरकारदेखि बाहिर हुँदाको पिडा र छट्पटीले सताइरहेकाले कसरी हो फेरि सरकारमा जाने दाउमा रहेकोसमेत उहाँले आरोप लगाउनुभयो ।
सरकारले अहिले जनताले सोचेको जति डेलिभरी दिइनहाले पनि विस्तारै काम गरिरहेकाले जनतालाई निराश नबनाउने समेत उहाँको प्रतिवद्धता छ ।