काठमाडौं । माओवादी केन्द्रका सचिव चक्रपाणी खनालले वर्तमान सरकार ढाल्न आफूहरुले कुनै पनि चलखेल नगरेको बताउनुभएको छ ।
सरकार जति धेरै चल्यो त्यति धेरै फाइदा माओवादीलाई नै हुने भएकाले वर्तमान सरकार रहिरहोस भन्ने नै चाहना भएको नेता खनालको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका सचिव खनालले बाहिर माओवादी केन्द्रले सरकार ढाल्न विभिन्न प्रोपगाण्ड गरिरहेको भन्ने आइरहेका सबै हल्लाहरु गलत भएको दाबी गर्दै सरकारले राम्रो काम गरोस भन्ने बाहेक अरु सोच नभएको स्पष्ट पार्दै आफूहरु अहिले सरकारको चासो चिन्तामा नरहेको बताउनुभयो ।
तर वर्तमान सरकार आफ्नै क्रियाकलापका कारण धेरै नटिक्ने लगभग निश्चित देखिएको भने उहाँको दाबी छ । संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणमा बनेको सरकारबाट केहि आस भए पनि सबै निराशमा परिणत भएको नेता खनालको भनाइ छ ।
जनता र देशको लागि केहि नगरेको सरकारले आफू र आफ्नालाई मात्रै बचाउने पोस्नेबाहेक अन्त केन्द्रित नभएको पनि उहाँले आरोप लगाउनुभयो । यस्तै माओवादी केन्द्र अझैं तीन वर्ष प्रतिपक्षमै रहने नेता खनालले दाबी गर्नुभयो ।