काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताभन्दा बाहिर बस्नै नचाहने चरित्रको व्यक्ति भएको आरोप लगाउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डलाई सत्ता चाहिने, सत्तामा बसेर शासन गर्नेबाहेक अरुतिर ध्यान नजाने भन्दै नेता बस्नेतले टिप्पणी गर्नुभयो ।
प्रचण्डको राजनीति जीवन र माओवादी केन्द्र अहिले संकटको भुमरिमा अलमलिरहेको बताउँदै नेता बस्नेतले यो बेला कार्यकर्ता र आफ्नो राजनीति जोगाउन प्रचण्डले विभिन्नखाले प्रोपगाण्ड ल्याइरहेको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता बस्नेतले सत्ताको लागि प्रचण्डले फरकफरक धारमा उभिएका वैदेशिक शक्तीहरुसँग पनि डिल गरिहरनुभएको सुन्नमा आइरहेको तर्क गर्नुभयो ।
कांग्रेसभित्र शेखर पक्षको टिमलाई प्रचण्डले पार्टी विभाजन गर्नेतहसम्म उकासिरहनुभएको र अर्कोतर्फ सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको लड्डु देखाइरहेकोसमेत नेता बस्नेतको आरोप छ ।
प्रचण्डले वर्तमान सरकार फुटाउन जति कोशीस गरे पनि सफल नहुनेसमेत उहाँको दाबी छ । पछिल्लो समय प्रचण्डले हरेकजसो सार्वजनिक कार्यक्रममा सरकारको आयू छैन, टिक्दैन भन्दै अभिव्यक्ति दिइरहनुभएको छ ।
सरकार गठनअघिको सहमति अनुसार नै चलिरहेको र आगामी २०८४ सम्मको निर्वाचनसम्मै रहनेमा कुनै शंका नरहेको नेता बस्नेतको विश्वास रहेको छ ।
यस्तै ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको देखेर विपक्षी दलहरु आत्तिएको समेत उहाँको आरोप छ ।