एजेन्सी । जर्मनीलाई ६–० को फराकिलो अन्तरले हराउँदै स्पेन युइएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग ‘ए’अन्तर्गत गए राति भएको समुह ४ को खेलमा जर्मनीलाई ६–० ले हराउँदै स्पेन फाइनल चरणमा पुगेको हो ।
जर्मनीलाई औपचारिक प्रतियोगितामा अहिलेसम्मकै फराकिलो हार दिलाउनेक्रममा स्पेनका फेरान टोरेसले ह्याट्रिक गरे ।
म्यान्चेस्टर सिटीका खेलाडी टोरेसको यो करियरमै पहिलो ह्याट्रिक हो । यसैगरी फ्रान्सले स्विडेनलाई ४–२ ले हराएको छ ।
गएराति क्रोएशियालाई ३–२ ले हराएको पोर्चुगल भने फाइनल चरणमा पुग्न सकेन । चार देश सहभागी हुने सेमिफाइनल चरणमा पुग्ने दुई टोलीको टुंगो लाग्न बाँकी छ ।
अब बेल्जियम र डेनमार्कमध्ये एक टोली तथा इटाली, नेदरल्याण्ड्स र पोल्याण्डमध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ ।