काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर मात्र सचिवालय बैठक राख्न उनी निकट नेताहरुले सुझाव दिएका छन् । प्रचण्डसँगै सिधै कुरा गरेर निकाश खोज्न उनीहरुले ओलीलाई सुझाव दिएका हुन् ।
बुधवारका लागि पूर्वनिर्धारित सचिवालय बैठकको पूर्वसन्ध्यामा ओलीपक्षको ‘कोर टिम’बीच मंगलवार बालुवाटारमा भएको छलफलमा नेताहरुले सहमति गरेर मात्र सचिवालय बैठक राख्नुपर्ने बताएका हुन् ।
गत शुक्रवारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले फरक राजनीतिक प्रतिवेदन र अध्यक्ष ओलीलाई सम्वोधन गर्दै ७ पेज लामो पत्र बुझाएपछि ओलीपक्ष छलफलमा जुटेको थियो ।
‘दुई अध्यक्ष मिल्नुको विकल्प छैन, हामीले प्रधानमन्त्रीलाई प्रचण्डसँग सिधै कुरा गर्न र आपसी सहमतिमा बैठक पछि सार्नुको विकल्प छैन भनेर सुझाव दिएका छौं’ संसदीय दलका उपनेता सुवास नेम्वाङले भन्नुभयो ।
ओली पक्षका नेताहरुले प्रचण्डले पेश गरेका प्रस्ताव फिर्ता नगर्दासम्म कुनै कमिटीको बैठक बस्न नसक्ने बताउँदै आएका छन् । महासचिव विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायत सहभागि बैठकमा कतिपय नेताले भने बुधबारको बैठक फेस गर्न सुझाव दिएको स्रोतले बताएको छ ।
ओलीपक्षले प्रचण्डको पत्र पार्टीमा छलफल नहुने भन्दै फिर्ता लिन दवाव दिएको छ । प्रचण्डसहित माधव नेपाल, झलनाख खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समूहले सो पत्र आफूहरुको सामूहिक भन्दै फिर्ता नगर्ने अडान लिएका छन् ।
प्रस्ताव फिर्ता लिनुपर्ने ओलीपक्षको दवाव र फिर्ता नगर्ने प्रचण्ड पक्षको अडानका कारण बुधबारका लागि पूर्वनिर्धारित सचिवालय बैठक प्रभावित हुने संकेत देखिएको छ । सचिवालय बैठक बोलाउन मागगर्दै सचिवालयका बहुमत सदस्यले कात्तिक २२ गते लिखित पत्र दिएपछि कात्तिक २८ मा सचिवालय बैठक बसेको थियो ।
शुक्रबार केहीबेरका लागि बसेर सचिवालय बैठक बुधवार सम्मका लागि स्थगित भएको थियो । राजदूत सिफारिश, मन्त्रिपरिषद् विस्तारलाई लिएर नेकपामा चुलिएका विवाद प्रचण्डको पत्रसँगै नयाँ चरणमा प्रवेश गरेको छ ।
प्रचण्ड शीतल निवासमा
यसैबीच, नेकपा)का अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्रको विवाद अन्त्यको प्रयास भइरहेका बेला प्रचण्ड शीतलनिवास पुगेका हुन् ।
पार्टीभित्र विवाद देखिएसँगै राष्ट्रपति भण्डारीको सक्रियता देखिएको छ । राष्ट्रपतिलाई भेटन प्रचण्ड प्रचण्ड साँझ साढे ५ बजे शितलनिवास गएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । नेकपा विवाद बढेको बेला राष्ट्रपति भण्डारीले केहीदिन पहिले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गर्नुभएको थियो ।
बुधबारका लागि पूर्वनिर्धारित सचिवालय बैठक अन्योलमा परेको समयमा प्रचण्ड राष्ट्रपतिलाई भेटन शितलनिवास पुग्नुभएको हो ।