Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज विश्व ध्यान दिवस, विश्वभर एकसाथ ध्यान गरेर मनाईयो (खासखबर)

आज विश्व ध्यान दिवस, विश्वभर एकसाथ ध्यान गरेर मनाईयो (खासखबर)

  • शनिवार, पौष ६ २०८१

  • 522
    SHARES

  • आज विश्व ध्यान दिवस, विश्वभर एकसाथ ध्यान गरेर मनाईयो (खासखबर)

    काठमाडौं। लामो समयपछि आज विश्वले एकसाथ ध्यान गरेको छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेसँगै विश्वभरका नागरिकले आजको दिन ध्यान गरेर ‘आन्तरिक शान्तिः विश्वव्यापी सद्भाव’ भन्ने नाराका साथ मनाएका हुन् ।

    तनाव, चिन्ता, आक्रोशजस्ता मानसिक समस्याले विश्वका मानिस समस्यामा छन् । यी सबै समस्याको समाधान ध्यानमा छ । शून्यता, पूर्णता, समग्रता, आत्मज्ञान, परमात्मा ज्ञानको अभ्यास र बोध गर्नु मात्र हैन, ध्यानको अर्थ आत्मानुशासनको एक युक्ति पनि हो ।

    जसको प्रयोजन तनाव शून्यता, मानसिक स्थिरता, मानसिक शान्ति मानसिक सन्तुलन, एकाग्रता, धीरता, गतिशीलता, सहनशीलता, स्वजागरण र स्व–अनुशासन हो ।

    शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला नै ध्यान—योग हो ।पछिल्लो समय तनावका कारण मानिस डिप्रेसनको सिकार भइरहेका छन् । तनावलाई विसर्जन गर्न पनि योग अहिलेको समयमा कोसेढुङ्गा साबित भएको छ ।

    योगको उद्देश्य नै मानवलाई तनावबाट मुक्त गराउनु हो ।ओशो तपोवनका स्वामी आनन्द अरुण अहिले अधिकांश मान्छेलाई निन्द्रा नलाग्ने र केमिकल्ली सपोर्टेट निन्द्रा चाहिने उल्लेख गर्दै त्यसलाई नेचुरल बनाउनुमा ध्यानको ठुलो योगदान रहेको बताउनुहुन्छ ।

    ध्यान जोगीहरूले गर्ने गुफामा मात्र नभई डाक्टरले नै गर्न सुझाउने गरेको भन्दै यो निरपवाद उपाय भएको तर्क गर्नुभयो । अब ध्यान वैज्ञानिक भएकाले प्रत्येक व्यक्तिले गर्न आवश्यक रहेको बताउनुभयो ।

    ध्यानको उद्देश्य चेतनाको जागरण मात्र नभएर चेतनाले जान्न सकिने सम्पूर्ण अवयवहरूलाई परिष्कृत, अनुशासित, लयबद्ध सहज र सरल बनाउनु हो । जसद्वारा व्यक्ति परिवार समाज राष्ट्र र विश्व मानवको कल्याण अवश्यम्भावी छ ।

    ध्यान प्रत्येक व्यक्तिभित्र अन्तर्निहित चेतना हो । जीवन विज्ञानका एलपी भानु शर्मा देशलाई आरोग्यको केन्द्र बनाउने गरी विकास गर्नुपर्ने बताउनुहुन्छ । नेपालले ध्यान तथा आरोग्य मन्त्रालय बनाएर त्यस मन्त्रालयले देशको स्तम्भको रुपमा आरोग्यको विकास गर्नुपर्ने उहाँको सुझाव छ ।

    विभिन्न ग्रन्थका अनुसार ऋषि कपिलमुनि, ऋषि पतञ्जलि र भगवान् गौतमबुद्ध नेपालमै जन्मिएका हुन् । यी तीनजनाले योग–ध्यान र व्यायाम नै मानव जीवनको सर्वोत्तम कार्य भएको पुष्टि गरेका छन् ।

    अझ भगवान् गौतमबुद्ध जन्मिनबित्तिकै हिँडेका सात पाइलालाई मानव शरीरमा भएका सात चक्रसँग तुलना गरिएको छ । योग–ध्यान र प्राणायाम गर्न हामी नेपालीलाई हावापानी र भौगोलिकताले पनि साथ दिएको छ ।

    परापूर्वकालमा नेपालको यो भूमि योग र ध्यानको भूमि रहेको केही ग्रन्थमा उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक ध्यानलाई नियमित रुपमा गर्नुपर्ने र यस प्रकारको ज्ञानलाई विद्यालय र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

    ध्यान प्राकृतिक ढङ्गले सचेत मानव जातिले प्रयोग गरेको र सभ्यताको मुहान भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई निरोगी नेपाल बनाउने सरकारको सङ्कल्प पूरा गर्न पनि ध्यान र योगलाई नियमितता दिन आवश्यक भएको बताउनुभयो ।

    ध्यान मानव जीवनका लागि वरदान हो । मानिसका सारा समस्या समाधानको साधन र उपकरण पनि हो ध्यान । मानवलाई महामानव बनाउने संसारमा कुनै चिज छ भने त्यो ध्यान हो । संयुक्त राष्ट्रसंघले अहिले आएर यो महसुस गर्नु र ध्यान दिवस मनाउने घोषणा गर्नु गर्वको कुरा हो ।

    अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रत्येक नागरिकलाई योग–ध्यानका बारेमा सचेत बनाउन आवश्यक छ । यसका लागि तीनै तहको सरकार, योग ध्यानसँग सम्बन्धित सङ्घ–संस्था र सचेत नागरिकले पहल गर्नुपर्छ ।


    शनिवार, पौष ६ २०८१०८:०९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij