काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले वर्तमान सरकार पूर्णरुपमा असफल भएको आरोप लगाउनुभएको छ ।
जुन उदेश्य देखाएर सरकार गठन भएको थियो त्यो अनुरुप एउटा पनि काम नभएकाले कांग्रेस एमाले समिकरणको सरकार असफल र बदनामी सावित भइरहेको पूर्वमन्त्रीसमेत रहनुभएका नेता किरातीको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता किरातीले देशको हित र जनताको चाहना विपरित काम गरिरहेको सरकारले भ्रष्ट र बेथितीलाई बढावा दिइरहेको समेत टिप्पणी गर्नुभयो ।
सरकारको कामबाट जनता निरास र आक्रोशित भएको बताउँदै उहाँले आगामी निर्वाचनमा परिणाम देखिने तर्क गर्नुभयो । आाफ्ना नेतालाई छानविनको दायरामा समेत नल्याएर सत्ताको संरक्षणभित्र राखी सहकारी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पूर्वाग्रही ढंगले रिस साधिरहेकोसमेत नेता किरातीको आरोप रहेको छ ।
रवि लामिछानेलाई जसरी लागेको आरोपीलाई पनि सोहि कानुनअनुसार कारवाही र कानुनको दायरामा ल्याइनुपर्नेमा उहाँको जोड रहेको छ ।
यस्तै, सत्यतथ्यपूर्ण ढंगले सहकारी ठगी प्रकरणको छानविन गर्ने हो भने एमाले र कांग्रेसको आधा बढि पार्टी समाप्त हुने उहाँको दाबी रहेको छ ।