काठमाडौं । माओवादी केन्द्रका नेता मुक्ति प्रधानले वर्तमान सरकारले देशलाई दिनदिनै खोक्रो बनाउँदै लगेको आरोप लगाउनुभएको छ । व्यापक भ्रष्टाचार र अनियमितता बढाइरहेको सरकाबाट सुशासनको आस गर्ने कुनै पनि ठाउँ नरहेको नेता प्रधानको भनाइ रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले संसदका दुई ठुला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारबाट केहि आस गरेका जनता निराश बनेको स्पष्ट पानर्सभयो ।
जनतालाई सरकार भएको अनुभुति गराउन नसकेको सरकारले भाषण र अनावश्यक प्रतिवद्धतामै समय खेर फालिरहेको समेत उहाँको टिप्पणी रहेको छ । यस्तै नेता प्रधानले माओवादीले अब सरकारविरुद्ध सडक र सदनबाट आवाज उठाउँदै जनतालाई साथमा लिएर अगाडि बढ्ने बताउनुभयो ।
कम्युनिष्टहरु अब एक जुट हुनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले कम्युनिष्टको नाममा विकृती र विसंगती मच्चाउनेसँग एक हुन नसक्ने तर्क गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र माओवादीबीच एकता भएको हो भन्ने हल्लाको खण्डन गर्दै उहाँले राष्ट्रविरोधी र अन्याय, अत्याचारविरुद्ध आवाज उठाएको स्पष्ट पार्नुभयो ।
केहि दिन अगाडि एक सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले राजनीति प्रतिशोध साधेको आरोप लगाउदै लामिछानेको बचाउमा उत्रिनुभएको थियो ।