काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान सरकारले कामै गरेन भनेर भ्रम फैलाउनु गलत भएको बताउनुभएको छ । भनेजति हुन नसके पनि केहि गर्दै नगरेको भने नभएकाले अझैं समय दिएर हेर्नुपर्ने पूर्वमन्त्रीसमेत रहनुभएकी सचिव अर्यालको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव अर्यालले कांग्रेस र एमालेको सरकर बन्नुको मूख्य उदेश्यनै देशको विकाश, भ्रष्टाचार अन्त्य र जनताको पक्षमा काम गर्नु भएकाले मन्त्रीहरुले सोहि अनुसार काम गरिरहेको दाबी गर्नुभयो ।
अहिले नै सरकार पूर्णरुपमा असफल भयो, केहि गरेन भनेर प्रतिपक्षले भन्नु अराजक भएको उहाँको टिप्पणी रहेको छ । हिजोको दिनमा सरकारमा हँदा केहि नगरेको प्रतिपक्ष दलले आज आएर विभिन्न बाधा र अवरोध सिर्जना गरेर जनतालाई भड्काउने कार्य नगर्न समेत सचिव अर्यालले आग्रह गर्नुभयो ।
यस्तै उहाँले वर्तमान सरकारमा खट्पट आयो भन्ने लगायत बाहिर सार्वजनिक भइरहेका हल्लाको खण्डन गर्दै बीआरआई सम्झौतापछि झन् गठबन्धन बलियो भएको स्पष्ट पार्नुभयो ।
बीआरआई सम्झौता अगाडि देखिएका असमझदारी र विमतीलाई सहमतिमा पु¥याएको दाबी गर्दै उहाँले वर्तमान सरकार ०८४ सम्मै रहनेमा विशवास व्यक्त गर्नुभयो ।