काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले निर्णायक मोडमा पुष्पकमल दाहाल प्रचण्डलाई नै साथ दिने आश्वासन दिनुभएको छ । शुक्रबार पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको भेटमा गृहमन्त्री थापाले यस्तो आश्वासन दिनुभएको हो ।
अहिले नेकपाको राजनीतिक ध्रुवीकरणमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिनुभएका थापाले निर्णायक मोडमा प्रचण्डलाई नै साथ दिने आश्वासन दिएको उहाँनिकट स्रोतले जानकारी दिएको छ ।
‘अहिले मन्त्रिपरिषदमा छु मलाई खुलेर तपाईँको पक्षमा उभिन अफ्ठ्यारो छ । तर, म निर्णायक मोडमा तपाईँलाई नै साथ दिन्छु’, थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
थापाले प्रचण्डलाई साथ दिएमा नौ सदस्यीय केन्द्रीय सचिवालयमा ओली अझै अल्पमतमा धकेलिने देखिएको छ ।