काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले बिआरआई सम्झौता गरेकोमा खुशी व्यक्त गर्नुभएको छ ।
नेपालको तयारी नपुगेपनि अन्तिममा बिआरआई परियोजनामा सम्झौता गर्नु सुखद् पक्ष भएको पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले बीआरआई सम्झौता परियोजनामा झारो टारेझैं हुनेमा आशंका भने रहेको बताउनुभएको छ ।
बीआरआई सम्झौतालाई लिएर पार्टी र नेतापिच्छे फरकफरक विचार आइरहेकाले के–के र कसरी सम्झौता भएको छ त्यो सबै जनतासामू प्रष्ट पारेर राख्नुपर्ने नेता खनालको भनाइ छ ।
यस्तै नेता खनालले फाइदा हुन्छ, देशको हितमा छ भने ऋण पनि लिन सकिने र अनुदान पनि लिन सकिने तर्कगर्दै अहिले अनुदानमा कुनै पनि सम्झौता नभएको स्पष्ट पार्नुभयो ।
यस्तै नेता खनालले अर्को प्रसंगमा बाम एकता देशको आवश्यकता भएको बताउनुभएको छ । बाम एकताको लागि आफूले निरन्तर प्रयास गरिरहेको र आवाज उठाइरहेको बताउँदै नेता खनालले बाम एकताको बाटोमा हिड्नुको कुनै विकल्प नभएको जिकिर गर्नुभएको छ ।
हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डले तीन वामपन्थी दलसँग एकता वार्ता गर्नुभएको छ ।
प्रचण्डले कुन–कुन दलसँग वार्ता भएको हो भन्ने नखुलाए पनि नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव समूह र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग एकताको पहल गर्दै आइरहेको बुझिएको छ ।