काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पार्टी प्रवेश गरेका सुनिलबहादुर थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको कांग्रेस स्रोतले जनाएको छ । सुनिलबहादुर पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।
थापाबाहेक राप्रपाबाट आएका अन्य ६ जना नेतालाई पनि कांग्रेसको केन्द्रीय सदस्य बनाउन सहमति भएको छ । पाँच केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), किरण गिरी (काठमाडौं), बाबुराम बस्नेत (भोजपुर), रामकृष्ण भट्टराई (मोरङ), वृजलाल यादव (बारा) र टिएन योगी (ललितपुर) छन् ।
त्यस्तै, आशाराम चौधरी (कैलाली), दिलिप राई (झापा) र राजेशबहादुर सिंह (कपिलवस्तु)बाट आमन्त्रित केन्द्रीय सदस्य बनेका छन् ।