काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले बीआरआई नेपालको राष्ट्रिय प्रतिवद्धता भएको बताउनुभएको छ । बिआरआईमा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको हो । सन् २०१७ मे १२ तारिखमा नेपाल र चीनबिच बीआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
कांग्रेस नेतृत्वकै सरकार रहँदा त्यसबेला सम्झौता पत्रमा हस्ताक्षर भएको हो । तत्कालीन सरकारका परराष्ट्रमन्त्री प्रकाशशरण महतले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले बीआरआईमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल भइरहेकाले सहमतिमै अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि नै साझा निष्कर्षमा पुगेर यो विषयलाई टुङग्याएर सहमतिमा जे हुन्छ त्यहि अनुसार चीन सरकारसँग कुरा गर्ने नेता रिजालको भनाइ छ ।
प्रधानमन्त्री ओली यहि मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । बीआरआईकै कारण सरकारमा खटपट नआउने नेता रिजालको विश्वास रहेको छ ।
यस्तै अर्को प्रसंगमा नेता रिजालले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनलाई अरुबाट परिचालित, पूर्वाग्राहि र बच्कानाको संज्ञा दिनुभएको छ ।
अस्ती शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख जरिवाना गरेपछि एमालेका नेताहरुले मेयर बालेनलाई एमालेविरुद्ध परिचालित भन्दै आरोप लगाइरहेका छन् ।
काठमाडौं महानगरको यो कदम कुप्रचार र एमालेको क्रेजलाई निस्तेज बनाउने षड्यन्त्रबाहेक अरु केहि नभएको नेता रिजालको टिप्पणी रहेको छ ।