काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चिनियाँ सहयोग बीआरआईबारे अनावश्यक विवाद नगर्न र नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा उनले आज (बिहीबार) एक विज्ञप्ती जारी गरेर यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले बीआरआईको सवालमा नेपालका एकपछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीनविरोधी कुप्रचारको शिकार भएर बीआरआई सहयोगलाई “ऋण पासो ” का रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको आरोप लगाउनुभयो।
उहाँले भन्न्ुभएकोछ , ‘यसपटक प्रधानमंत्रीको चीन भ्रमण हुँदा यी पूर्वाग्रहहरुलाई तोड्दै बीआरआईलगायत नेपालको राष्ट्रिय हितअनुकुल हुने अन्य अनेकौं विषयमा सम्झौता होला भन्ने आशा जनताले गरेका छन ।’
खनालले बीआरआई गर्ने कि नगर्ने भन्ने विषयमा नै सत्तारुढ दुई दलहरु एमाले र कांग्रेसबीच बहस भैरहनु र ठोस निणर्य गर्न नसक्नु मुलुककै निम्ति विडम्वना बन्न पुगेको टिप्पणी गर्नुभएको छ ।