काठमाडौँ – तनहुँको व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानले हाल चर्चामा रहेको मानहुँकोटमा पर्यटकीय संरचनाको विकास गरिने बताएका छन्।
उनले मानहुँकोटमा पर्यटकीय संचरना निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताए।
नेपाली रेडियो नेटवर्ककको स्थानीय सरकार कार्यक्रममा उनले भने, ‘हामीले पूर्वाधार निर्माणको काम त गरिरहेका थियौँ तर अहिले पर्यटकको संख्या ह्वात्तै बढेपछि झनै तीव्र गतिमा काम गर्नुपर्ने बाध्यात्मक अवस्था श्रृजना भएको छ।’
उनले कुहिरोले लुकामारी गरेको र सूर्योदयको रमणीय दृष्य अवलोकनका लागि मानहुँकोट पहिलेदेखि नै प्रख्यात भए पनि अहिले सामाजिक सञ्जालले एकाएक चर्चामा ल्याएको बताए।
‘युवाहरुले टिकटक बनाएपछि मानहुँकोट चर्चामा आयो, अहिले देशभरबाट पर्यटक आइरहेका छन्’, नगर प्रमुख न्यौपानेले भने, ‘शनिबार त थेग्नै नसक्ने भीड भएको थियो।’
उनले मानहुँकोटमा अहिले जग्गा किन्नेहरुको ओइरो लागेको बताए। तर आफूहरुले मानहुँकोटको मौलिकता जोगाइ राख्न निजी संरचना निर्माणका लागि आवश्यक मापदण्ड तोक्ने बताए।
‘७० घरहरु मध्ये अहिले मानहुँकोटमा सातवटा घर बचेका छन् । मगर समुदायका उहाँहरुको मौलिक पहिचान र संस्कृतिका आधारमा मात्रै नयाँ संचरना निर्माण गर्न दिइने छ’, न्यौपानले भने ।
यसअघि पानीको समस्या भएका कारण मानहुँकोटका बासिन्दा बसाइ सरेर गएका थिए । तर अहिले बसाइ सरेकाहरु पनि मानहुँकोटमा फर्कन थालेको उनले बताए।
मानहुँकोटमा अहिले भ्यू टावर लगातयका संचरना निर्माणको काम भइरहेको न्यौपानले जानकारी दिए। उनका अनुसार भ्यू टावर बनेपछि मानहुँकोटबाट दमौली बजार र हिमालका शृङ्खलाहरु झनै मनमोहक देखिनेछन्।
मानहुँकोटबाट देखिने हिमाल तथा समथर फाँट, नदीनालाले निकै मनमोहक बनाउने गरेको अवलोकनकर्ताहरु बताउँछन्।
नगरप्रमुख न्यौपानेसँग गरिएको कुराकानी सुन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।