काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारमा आएको सुरुवाती तिन महिनामा परिणाममुखी काम गरेको दाबी गर्नुभएको छ । सुरुमा बुझ्न केही समय लागे पनि उपचारात्मक पद्धतिलाई सहज बनाउने र अस्पतालमा उपचार सेवा विस्तारगरी नीतिगत पक्षबाट सुधार गर्ने काम गरेको दाबी गर्दै मन्त्री पौडेलले यसको परिणाम आउन केहीसमय लाग्ने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री पौडेलले आवश्यकता अनुसारको लगानी नभएकोले सीमित साधन स्रोतभित्र अधिकतम प्रभावकारी ढंगबाट सेवा दिने परिस्थिति कसरी बनाउन सक्छौं भन्ने कुरामा क्रमशः काम गरिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय केही उपकरणलाई व्यवस्थित गर्ने र पूर्वाधारलाई प्रयोग गर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।
अस्पतालमा आईसीयुको संख्या वृद्धि गर्ने, जनरल बेडको संख्या वृद्धि गर्ने, अप्रेसनको क्षमता वृद्धि गर्ने, ल्याबलाई बढी समय चलाउनेलगायतका काम गरिरहेको उहाँले बताउनुभयो । यस्तै १४ वर्ष कम उमेरका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार गराउने व्यवस्था मिलाएको उहाँले दाबी गर्नुभयो ।