काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोही मान्छे अदभूत भगवान भन्ने प्रबृत्ति गलत भएको बताउनु भएको छ ।
कुनै बेला धेरै राम्रा काम गरेका व्यक्ति पनि केही कुरा नमिल्दा पछि अपराधी कहलिएका घटना धेरै भएको उल्लेख गर्दै उहाँले व्यक्तिभन्दा विधि मुख्य कुरा भएको तर्क गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्गलाई कसैले हण्टाउन नखोजेको स्पष्ट पार्नुभयो ।
मन्त्री खड्काले राम्रो काम गरिरहेको र कार्यकाल पनि सकिन लागेकोले उहाँलाई हटाउनु पर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाँले ट्रंकलाईनका सम्वन्धमा तयार पारिएको लाल आयोगको प्रतिवेदनले मात्रै ट्रंक लाईन सम्वन्धी विवाद समाधान हुनेमा आशंका व्यक्त गर्नुभयो ।
बक्यौता तिर्ने र तिराउने पक्षका विचमा समझदारी नभई निर्णय कार्यान्वयन हुन नसक्ने र दिगो पनि नहुने भएकाले दुवै पक्षलाई सहमत गराउनु पर्नेमा मन्त्री खड्काले जोड दिनुभयो ।
उहाँले उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व पनि भएकाले उनीहरुको आवाजलाई नजरअन्दाज गर्न नसकिने पनि स्पष्ट पार्नुभयो ।