काठमाडौं । नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दिक्षितले सहकारी ठगी प्रकरणमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याइनुपर्ने बताउनुभएको छ ।
सत्तापक्षकै नेताहरु जो यो प्रकरणमा संलग्न देखिएका छन् उनीहरुलाई पनि अब छिट्टै पक्राउ गरेर अनुसन्धानमा ल्याउनुपर्ने डाक्टर दिक्षितको भनाइ रहेको छ ।
वर्तमान सरकार अहिले कस्लाई बचाउने, कस्लाई फसाउने भन्नेमा केन्द्रित भएको आरोप लगाउँदै उहाँले सहकारी पीडितलाई न्याय दिने कुरामा गम्भिर नभएको दाबी गर्नुभयो ।
कांग्रेस नेता धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेललाई पनि कारवाहीमा ल्याउनुपर्ने उहाँको माग रहेको छ ।
भ्रष्टाचारमा आफ्ना र पराई नहेरि कसैलाई छाड्दैनौं कारवाही गर्छौ भनेर मात्रै समय खेर फालिरहेको सरकारले अब भने बोलेर नभई गरेर देखाउनु पर्ने डाक्टर दिक्षितको भनाइ छ ।
सहकारी ठगी प्रकरणमा दोषि देखिएकाको विरुद्ध आफूहरुसँग प्रमाण छन् भनेर संसदमा कराएका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त्यो प्रमाणहरु अब देखाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
यस्तै डाक्टर दिक्षितले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जारी राखेको आन्दोलनको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ ।
आफ्नै पार्टीका नेता बसेर छानिव गरेर तयार पारिएको प्रतिवेदनका आधारमा मुद्दा चलाएर अनुसन्धानको प्रक्रियालाई अवरुद्ध गर्नु असंसदिय क्रियाकलाप भएको उहाँको तर्क छ ।