काठमाडौं । नेकपा एमालेको पार्टी मुख्यालय बनाउनका निम्ति व्यावसायी मीनबहादुर गुरुङले कीर्तिपुर–२, मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा उपलब्ध गराएसँगै विभिन्न किसिमका टिकाटिप्पणी, विरोध र समर्थन भइरहेकाखे छ ।
एमालेकै स्थायी कमिटि सदस्यलगायत सत्तापक्ष र प्रमुख प्रतिपक्षले यसको खुलेरै विरोध जनाइरहेका छन् तर एमालेले भने व्यवसायी गुरुङ विद्यार्थीकालदेखि नै आफ्ना कार्यकर्ता रहेको भन्दै उक्त विषयलाई लिएर टीकाटिप्पणी नगर्न आग्रह गरेको छ ।
पार्टीको वैचारिक र राजनीतिक सामीप्य रहेको व्यक्तिले अन्तरमनबाट पारदर्शी र खुला दिलले दान गरेको र पार्टीले ग्रहण गरेको एमालेको जिकिर छ ।
यता अर्थविद् डाक्टर चन्द्रमणी अधिकारीले भने प्रधानमन्त्री केपी शर्मा ओलीले यो जग्गालाई फिर्ता गर्नुपर्ने सुझाव दिनुभएको छ ।
पहिलाकै पार्टी कार्यलयलाई फेरि बनाएर सन्चालन गर्नुपर्नेमा जोड दिदै एमालेले गुरुङको जग्गालाई स्विकार गर्नु स्वार्थ प्रस्टै देखिएको आरोप लगाउनुभयो । एमालेले जतिसुकै होइन भने पनि जनताले यो कुरामा विश्वास नगर्ने र स्वार्थ छ भनेर प्रष्टै देखिने अर्थविद् अधिकारीको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् अधिकारीले यो कुराले पछि आएर संसद, राजनीतिक दल र मन्त्रालयलाई प्रभाव पार्न सक्ने बताउनुभयो ।