काठमाडौं। नेपालमा यस वर्ष १२४ दिनसम्म रहेर मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष १० दिन ढिलो गरी अक्टोबर १२ मा बाहिरिएको हो।
महाशाखाका अनुसार हिजो शनिबार यस वर्षको मनसुन वाग्मती, मधेश र कोशी प्रदेशबाट बाहिरिएको छ। असोज २२ गते(अक्टोबर ८) मा कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिइसकेको थियो।
त्यस्तै त्यसै दिन काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागबाटसमेत मनसुन बाहिरिएको थियो। त्यस्तै असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट मनसुन बाहिरिएको पनि महाशाखाले जनाएको छ ।
जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन्। यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन्।
जलवायुविद् मञ्जित ढकाल मनसुन ढिला गरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल भएको बताउँदै जलवायु परिवर्तनको असरको रूपमा लिन सकिने प्रतिक्रिया दिनुहुन्छ।
मनसुन दक्षिण हिन्द महासागरबाट सुरु हुन्छ । दक्षिणपूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दा त्यसले वायुमण्डलको तल्लो भागमा असर पु¥याउँछ । मनसुनको समयमा पूर्वी नेपालबाट पानी पर्न थाल्छ र मध्य भाग हुँदै पश्चिम लाग्छ ।
मनसुनमा बिहानैदेखि झरी पर्छ । मौसमविद्का अनुसार वायुमण्डलको तल्लो भागमा मनसुन प्रभावित पार्ने एउटा न्यून चापीय रेखा हुन्छ । त्यो रेखा जति नेपालको भू–भाग नजिक आयो त्यति नै ठूलो मात्रामा झरी पर्छ । त्यस्तै उक्त न्यून चापीयरेखा नेपाली भू–भागबाट टाढा वा दक्षिणतर्फ सर्दै जाँदा पानी पर्दैन ।
मौसमविद्हरूका अनुसार यस वर्षको मनसुन बहिर्गमन हुने समय लम्बिएकाले असोज १५ गतेदेखि पुस १६ सम्म सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । यस वर्ष जाडोयाममा तापक्रम बढ्नेसमेत प्रक्षेपण गरिएको जलवायुविद् ढकालले बताउनुभयो ।
यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उहाँको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उहाँको जोड छ । उहाँले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यान्वयन गर्न आवश्यक भएको बताउनुभयो ।
बाढी र पहिरोले ठुलो विध्वंस मच्चाउने गरी आएको यसवर्षको मनसुनमा असोजको दोस्रो साताको अबिरल वर्षासँगै बाढी पहिरोमा २४० जना भन्दा बढीको मृत्यु भएको थियो भने सडक र भवनसहित अर्बौको भौतिक क्षतिको त अझै विवरण आइसकेको छैन ।
पछिल्ला १० वर्षमा मौसमजन्य विपद् (बाढी पहिरो, भारी वर्षा र चट्याङ) बाट तीन हजार ५२ को मृत्यु, सात सय ९१ बेपत्ता तथा चार हजार एक सय ७६ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ । गतवर्ष सात सय ६९ विपद्का घटनाबाट ६३ जनाको मृत्यु, ६९ घाइते तथा ३० जना बेपत्ता भएका थिए ।
गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले यसवर्षको मनसुनमा गतको वर्षको भन्दा दोब्बर बढी क्षति भएको भएको बताउनुभयो ।
नेपालमा हरेक वर्ष मनसुनी वर्षासँगैको बाढी पहिरोमा परि सयौंको ज्यान जाने गरेको छ । मौसमविद्हरूले औसतभन्दा धेरै वर्षा हुनेबारे सरकारको समयमै ध्यानाकर्षण गराएपनि प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्न नसक्दा नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ।
विपत्तका बेला मात्र आत्तिने अरुबेला बेवास्ता गर्ने नेपालीपनले वर्षेनी यस्तै नियति भोगिरहनु परेको छ। व्यवस्थित विपद् पूर्व तयारीका लागि बहुप्रकोप पूर्वसूचना प्रणाली विकास, सञ्चार समन्वय, समुदायमा आधारित तालिम प्रशिक्षण, राम्रो र बलियो पुनः निर्माण आवश्यक छ, यसमा सरकारले ध्यान दिन जरुरी छ।