Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज बडादसैँ अन्तर्गत नवरात्रको सातौं दिन, घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइयो (खासखबर)

आज बडादसैँ अन्तर्गत नवरात्रको सातौं दिन, घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइयो (खासखबर)

  • बिहिवार, आश्विन २४ २०८१

  • 663
    SHARES

  • आज बडादसैँ अन्तर्गत नवरात्रको सातौं दिन, घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइयो (खासखबर)

    काठमाडौं। आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दसैँको खास दिन आजैबाट शुभारम्भ हुन्छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

    सोही अनुसार आज दुर्गापीठ, दसैँघर, कोत तथा घर–घरमा फूलपाती भित्राइएको छ। आज काठमाडौंको हनुमानढोका दरबारको दसैँघरमा पनि परम्परा अनुसार गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।

    गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ। सोही अनुसार आज हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याइएको हनुमानढोका दरबार हेरचाहकर्ता दसैँघरका मूल पुजारी देवराज अर्यालले बताउनुभयो ।

    वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले फूलपातीको विशेष महत्त्व रहेको छ । हाम्रो देश नेपाल वैदिक,हिन्दु तन्त्रात्मक सिद्ध भूमि भएकाले सदीयौंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्वहरू मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थहरूमा व्याख्या भएको पाइन्छ ।

    हिमाल, पहाड र तराई गरी तीन भागमा नेपालीहरूको बसोबास रहेकाले पनि भूमि अनुसार उपलब्ध बस्तुहरू पुजाघरमा भित्र्याउने र पूजा गर्नुपर्ने शास्त्रीय नियम रहिआएको छ । यसरी भित्र्याउने फूलपाती सुकेपछि धुलोबनाएर शुद्ध गाईको घ्यूले मोलेर वर्षदिन धूपका रुपमा प्रयोग गर्ने पनि नियम रहिआएको छ ।

    नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवम् धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमको भनाई छ ।

    घटस्थापना गरी जमरा राखेपछि शुरू हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस स–परिवार बसेर टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम बढ्ने गर्छ । फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ ।


    बिहिवार, आश्विन २४ २०८१०८:०४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij