काठमाडौं। भान्सालाई स्वस्थकर बनाउन स्वयं व्यक्तिले कसरत गर्नुपर्दछ। भान्सा स्वस्थ भयो भने सामान्य स्वास्थ्य समस्याले छुन सक्दैन । नेपालीहरुको नियमित आहार व्यवहारमा प्रयोग हुने मसलानै प्राथमिक औषधि हुन् जसको सेवनले स्वस्थकर तुल्याएको हुन्छ ।
भान्सामा पाइने लसुन, धनियाँ, जिरा, मेथी, अदुवा, प्याज नै मानिसको स्वास्थ्यका लागि लाभदायक छन्। तर, यसको साँटो बजारका प्याकेजिङ गरेका मरमसला प्रयोग गर्नाले मानिसलाई दुःख दिइरहेको हुन्छ ।
दशैँको समयमा प्रयोग हुने विभिन्न प्रकारका मरमसलाको सेवनले स्वास्थ्यलाई हानी पु¥याउन सक्छ त्यसैले सकेसम्म आफ्नै बारीमा फलेको वस्तुहरु प्रयोग गर्नुपर्दछ । यदि त्यो सम्भव नभएपनि काँचो वस्तुहरु बजारबाट किनेर आफू अनुकुल मसलाको रुपमा प्रयोग गर्न सकिन्छ।
दशैँको समयमा खानपिनका साथै मानसिक तवरले पनि स्वस्थ रहन आवश्यक रहेको मनोविद्हरुको सुझाव छ। आफूले धान्ने जति मात्रै खर्च र खानपान गर्नु उत्तम रहने मनोविद् डा. नरेन्द्र ठगुन्नाको भनाइ रहेको छ ।
दशैँमा पाक्ने परिकारमा सेलरोटी, मासु, अन्य विभिन्न प्रकारका चिल्लो पदार्थहरु बनाइन्छ। अरुबेलाको तुलनामा यसको सेवन पनि अधिक मात्रामा हुने गर्दछ। दशैँको समयमा खानपिनमा पनि ध्यान दिन आवश्यक हुन्छ।
दशैँको समयमा भान्सामा भएका मसला प्रयोग गर्ने र तेलमा पाकेका खानेकुरा र मासु सेवनमा विशेष ध्यान दिन आवश्यक रहेको वरिष्ठ आयूर्वेद चिकित्सक डा. लक्ष्मण पौडेलको सुझाव रहेको छ।
स्वास्थ्यलाई हरेक व्यक्तिले तन्दुरुस्त पार्नका लागि ध्यान दिन आवश्यक हुन्छ। स्वाथ्यनै धन हो, व्यक्ति स्वस्थ रह्यो भने मात्रै सिंगो देश स्वस्थ रहन्छ।चाडबाडमा पकाइने खानेकुराहरुमा विशेष ध्यान दिनुपर्छ । रोग लागेर उपचार गर्नुभन्दा लाग्ने नदिनु बुद्धिमानी हुन्छ ।