काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता अमनलाल मोदीले माओवादीले बाहेक देशको लागि काम गर्ने अर्को पार्टी नभएको बताउनुभएको छ ।
आजसम्मको सरकारको इतिहासमा माओवादीको नेतृत्वको सरकारले बाहेक अरुले केहि काम नगरेको नेता मोदीले दाबी गर्नुभएको छ ।
भ्रष्टचारको विरुद्ध र सुशासनको पक्षमा रहेर काम गरिरहेको माओवादीलाई हटाएर बनेको कांग्रेस–एमाले समिकरणको नयाँ सरकारबाट देश बर्बादीमा जाने नेता मोदीले आरोप लगाउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुर्वमन्त्रीसमेत रहनुभएका मोदीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका फाइलहरु खोल्ने र भ्रष्टाचारीलाई कारवाही गर्ने नितिले अगाडि बढिरहेको बताउँदै वर्तमान सरकारले भने भ्रष्टाचारीलाई बचाउने र फाइल पनि बन्द गर्ने गरि अगाडि बढेको नेता मोदीको अरोप रहेको छ ।
यस्तै नेता मोदीले जनयुद्धमाथि संघीय संसद्मा अपमानित गर्ने प्रयास भएकोले त्यसको सशक्त प्रतिवाद गर्ने बताउनुभएको छ ।
यो शब्दबारे सच्चिएर निर्णय नभएसम्म आफूहरूले संसद् अवरोध जारी राख्ने उहाँको भनाइ छ ।