Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

के प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको हैसियत परित्याग गरेका हुन्?

के प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको हैसियत परित्याग गरेका हुन्?

  • शनिवार, कार्तिक २२ २०७७

  • 1.6K
    SHARES

  • के प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको हैसियत परित्याग गरेका हुन्?

    काठमाडौँ – प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाउन अस्वीकार गर्नुभएको छ। कार्यकारी अध्यक्षसहित बहुमत सदस्यहरुले लिखित पत्र बुझाउँदा पनि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गर्नुभएको हो।

    आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बालुवाटार गई ओलीलाई पार्टीको सचिवालय बैठक बोलाउन लिखित पत्र बुझाएका थिए। तर प्रधानमन्त्री ओलीले सचिवालय बैठक नबोलाउने अडान लिएपछि नेताहरुको समुह बालुवाटारबाठ रित्तै फर्केको थियो।

    टोलीमा सहभागी पार्टीका प्रवक्ता समेत रहनुभएका नेता नारायणकाजी श्रेष्ठले एक–दुई दिनमै बैठक डाक्न आफूहरुले लिखित पत्र बुझाएपनि त्यसबारे ओलीले कुनै निष्कर्ष नदिनुभएको संवाददाताहरुसँग बताउनुभयो।

    बैठक राख्नका लागि कार्यकारी अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुको लिखित आग्रह पनि ओलीले अस्वीकार गरेपछि अब नेकपाको भविष्य के हुने भन्ने विषय अन्यौलमा परेको छ ।

    कतिपयले बैठक डाक्नका लागि ओलीसमक्ष बिन्ती बिसाएर प्रच्ण्डले कार्यकारी अध्यक्षको हैसियत त्याग गरेको अर्थमा पनि टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषक डा. लोकराज बरालले नेकपामा ओली नै सर्वेसर्बा रहेको र प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका नै नदिइएको कुरा एक पटक फेरि प्रमाणित भएको बताउनुभयो ।

    उहाँले प्रचण्ड–नेपाल समूहको कमजोरी थाहा पाएपछि ओलीले आफूलाई झनै शक्तिशालि ठानिरहेको बताउनुभयो । पार्टी विभाजन गरेको आरोप आफूहरुमाथि नलागोस् भन्ने मनसायका साथ मात्रै यो समूहले आज ओलीसमक्ष अन्तिम बिन्ती बिसाएको उहाँको टिप्पणी छ ।

    आफै कार्यकारी अध्यक्ष रहेका प्रचण्डले सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएपछि ओली समूहबाटै प्रचण्डले कार्यकारी अध्यक्षको हैसियत त्याग गरेको प्रमणित हुने बहस छेडिएको छ । तर प्रचण्ड निकट नेता दिनानाथ शर्माले संक्रमणकालमा रहेको पार्टीमा यस्ता घटनालाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुहुन्छ । उहाँले पार्टीका दुवै अध्यक्षको हैसियत समान रहेको दाबी गर्नुभयो ।

    दुवै समूहका नेताहरुले आ–आफ्नो अनुकुलतामा घटनाक्रमहरुलाई व्याख्या गरे पनि अब नेकपा एक भएर हिँड्नै नसक्ने अवस्थामा पुगिसकेको राजनीतिक पण्डितहरु बताइरहेका छन् । तर पार्टी अध्यक्ष प्रचण्डले विवादहरुलाई समाधान गर्न आफू लगातार सफल रहँदै आएकोले अहिलेको विवादलाई पनि समाधान दिने बताउनुभयोे ।

    तर विश्लेषक बरालका नजरमा पछिल्लो विवाद समाधानमा ओली सहमत नभए पार्टीमा प्रचण्ड नेपाल समूहको अस्तित्व नै नरहेको अर्थ प्रष्ट भइसकेको छ । ओलीले अब पनि बैठक बोलाउनुभएन भने प्रचण्ड–नेपाल समूहलाई आफ्नो बाटो लाग्नुको विकल्प नरहेको उहाँले बताउनुभयो।

    तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी गठन भएदेखि नै विवादको घेराबाट गुज्रेर यहाँसम्म आइपुगेको छ । दुई पार्टी मिलेर बनेको नेकपा हेर्दा उस्तै देखिने तर विषेशता फरक रहेका कोदो र तोरीको मिश्रणजस्तै बनेको छ ।


    शनिवार, कार्तिक २२ २०७७०८:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij