Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाल्पाको रम्भादेवीमा आज पहिलो पटक सांस्कृतिक महोत्सव हुँदै, चर्चित कलाकारहरु पनि पुगे

पाल्पाको रम्भादेवीमा आज पहिलो पटक सांस्कृतिक महोत्सव हुँदै, चर्चित कलाकारहरु पनि पुगे

  • सोमवार, भाद्र १० २०८१

  • 733
    SHARES

  • पाल्पाको रम्भादेवीमा आज पहिलो पटक सांस्कृतिक महोत्सव हुँदै, चर्चित कलाकारहरु पनि पुगे

    काठमाडौं । पाल्पाको चर्चित धार्मिकस्थल रम्भादेवी मन्दीरमा आज (सोमबार)श्रीकृष्णजन्माष्टमीको अवसरमा रम्भादेवी सांस्कृतिक महोत्सव हुन लागेको छ ।

    कृष्ण जन्माष्टमीको दिन पहिला पहिला ठूलो मेला लाग्ने गरेपनि पछिल्लो समय जनसहभागीता घट्दै गएकाले फेरि बढाउन कृष्णष्टमीकै दिन भव्य महोत्सव आयोजना गर्न लागिएको महोत्सवका संयोजक तथा बरिष्ठ कलाकार दुर्गा रायमाझीले जानकारी दिनुभयो ।

    सहयात्रा नेपालको आयोजना र रम्भादेवी पर्यटन विकास केन्द्रको सहआयोजनामा हुन लागेको महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिसँगै चर्चित तथा लोकप्रिय राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने उहाँले बताउनुभयो ।

    महोत्सवमा रामपुरको बालन, माथागढीको झाम्रे, हुमिनको लाखे, सिलुवाको कौरा, रानीवासको सोरठी र तिवारी आमाको मौलिक तीजसहित स्थानीय मौलिक कला संस्कृतिहरु प्रस्तुत गरिने छ ।

    त्यसैगरी बरिष्ठ कलाकारहरु नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसि, नारायण लेकाली, अमृत अधिकारी, नविन पौडेल, हुम गैहै्र, माधव भण्डारी, श्रीदेवी देवकोटा, बसन्ती थापा, कमल भट्टराई, रुपेश कार्की, सकुन्तला गैह्रे, लगायतका राष्ट्रिय तथा स्थानीय लोकप्रिय तथा चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने भएको आयोजकहरुले जनाएका छन् । विहान ११ बजेपछि हुने महोत्सवका लागि अधिकांश कलाकारहरु ताहुँ पुगीसकेको जनाइएको छ ।

    यस क्षेत्रका जनताको ठूलो आस्था रहेको रम्भादेवी मन्दीर रहेको ठाउँलाई रम्भा पानी पनि भन्ने गरिन्छ । त्रेता युगमा भगवान् राम र सिता मुक्तिनाथको यात्रा गर्ने क्रममा रामपुर हँुदै राम्दी जाँदा त्यही जङगलमा आईपुग्दा सितालाई पानी प्यास लागेको र पानी खोज्दा कतै नभेटेपछि रामले वाणले हानेर पानी उत्पन्न गरेको हुनाले रामवाण पानी, रामवाण पानी भन्दा भन्दै रम्भापानी रहन गएको हो भन्ने किंवदन्ती छ ।

    सरकारले घोषणा गरेको १०० गन्तव्य मध्यको एक रम्भादेवी मन्दीर सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ देखि १५ कि.मी टाढा रहेको ताँहु बजारवाट २ कि.मी उत्तरमा रहेको जरमस्टी डाँडामा रहेको छ ।

    रम्भादेवीको भाकल गरेमा मागेको वा चिताएको पुग्छ भन्ने विश्वासले भाकल गर्ने र भाकल पुरा भएपछि भाकल गरे अनुसार भेटी, फूलपाती, अक्षता, ध्वजा, लिंगा, रोट वा पञ्चवली दिने चलन रही आएको छ । तर पछिल्लो समय प्रचार प्रसारको कमिले यहाँ आउनेहरुको संख्या घट्दै गएकाले रम्भादेवी मन्दीर र यहाँ लाग्ने मेलाको महत्व पुनस्र्थापित गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको मेलाका संयोजक रायमाझीले जानकारी दिनुभयो ।

    महोत्सवले विगतदेखि चल्दै आएको धार्मिक आस्था तथा कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न, कृष्णाष्टमीको महत्व र धार्मिक आस्था बृद्धि गर्न, रम्भादेवी मन्दीरको धार्मिक तथा पर्यटकीय दृष्टीले प्रचार प्रसार भई धार्मिक पर्यटकहरुको संख्या बढाउन र त्यस क्षेत्रको आय आर्जन बढाउन सघाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    नेपाली लोककला, संस्कृति, गीत, संगीत आदिको विकास र प्रवद्र्धनका लागि स्थापित सहयात्रा नेपालले सांस्कृति नेपाल अभियान अन्तर्गत पाल्पालाई सांस्कृतिक पाल्पाको रुपमा चिनाउने गरी यस्तै अन्य मेला महोत्सव तथा विविध कार्यक्रमहरुको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष समेत रहनु भएका बरिष्ठ कलाकार रायमाझीले जानकारी दिनुभयो । कला, संस्कृति र संगीतका क्षेत्रमा लामो समयदेखि कृयाशील विज्ञ, अनुभवी र अभ्यासकर्ताहरुको सामूहिक पहलमा सहयात्रा नेपालको स्थापना भएको हो ।

    संस्थाले विज्ञ र अनुभवीहरुको सम्मान तथा उहाँहरुको संरक्षकत्वमा नव स्रष्टाहरुलाई उत्प्रेरित गर्दै कला, संस्कृति र संगीतसँग सम्वन्धित नीतिगत वकालत, अध्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रवर्धनात्मक कामहरु गर्ने उद्धेश्य राखेको छ ।


    सोमवार, भाद्र १० २०८१०७:५२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij