काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जनताले छानेका दुई ठुला दलबीचको सहकार्यको सरकारले स्थायित्व र आर्थिक विकासका लागि काम गर्ने बताउनुभएको छ । वर्तमान गठबन्धन सरकारबाट आथिर्कवृद्धि बढ्ने आसा गरिएको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुर्वमन्त्रीसमेत रहनुभएका प्रवक्ता महतले दुई ठुला दल एक हुनुनै ठुलो उपलब्धि मान्नुपर्ने बताउँदै यो सरकारले जनतालाई निराश नगराउनेमा ढुक्क हुन आग्रहसमेत गर्नुभएको छ ।
जनतामा छाएको निरासा र दलहरुप्रतिको अविश्वासलाई वर्तमान सरकारले चिरेर काम गर्नेमा उहाँको विश्वास रहेको छ ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाउने भन्ने बहस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले उठाइरहेको प्रसंगमा प्रवक्ता महतले समिकरणमा भएको सहमति अनुसार नै कार्यान्वयन हुने बताउनुभएको छ ।
केपी शर्मा ओलीसँग भएको सात बुँदे सहमतिमा ओलीपछि देउवा नै प्रधानमन्त्री बन्ने सहमति भएको छ । बहसमा जे जस्ता कुराहरु उठाइए पनि ओलीपछि को आउने भन्ने कुरामा पहिला नै सहमति भइसकेकाले देउवा नै प्रधानमन्त्री बन्ने उहाँले स्पष्ट पार्नुभयो ।