काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले प्रदेशको मन्त्रीमण्डलको पनि आकार निर्धारण गर्न माग गर्नु भएको छ ।
संघीय सरकारमा २५ जना भन्दा बढी मन्त्री बनाउन नपाउने संवैधानिक व्यवस्था भएकाले ठूलो मन्त्रीमण्डल बनाउने प्रबृत्ति नियन्त्रणमा आएकाले प्रदेशमा पनि त्यस्तै व्यवस्था गर्नु पर्ने उहाँको भनाई छ ।
प्रदेशहरुमा मन्त्रीमण्डलको आकार जथाभावी गराउने विक्रिती बढेकाले मन्त्रीहरुको संख्या तोक्नुपर्ने नेता शिवाकोटीले माग गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “जथाभावी मन्त्री मण्डल बनाउने र उनीहरुले काम न काजसँग झण्डा हल्लाउदै, भाषण गर्दै हिंड्ने गरेकाले पनि संघीयता बदनाम भएको हो ।”उहाँले कतिपय प्रदेशकै गतिविधिका कारण र कतिपय संघीय सरकार वा पार्टीको केन्द्रीय शीर्ष नेतृत्वका कारण संघीयता बदनाम र कमजोर भएको दावी गर्नुभयो ।
“तीनै तहका सरकारको, आ आफ्नै काम, कर्तव्य र अधिकार छन्, तर त्यसलाई केन्द्रबाट हस्तक्षेप हुने प्रवृत्ति गलत छ, त्यसलाई सुधार्नु पर्छ,” उहाँले भन्नुभयो ।
प्रदेशले गर्नुपर्ने निर्णय केन्द्रले गरेर उनीहरुलाई वोधार्थ मात्रै दिने अभ्यासले नै संघीयता कमजोर भएको उहाँको भनाई छ ।
केन्द्रीय सदस्य शिवाकोटीले काँग्रेस सरकारमा सहभागी भएकै कारणले पहिलेदेखि उठाउदै आएका भ्रष्टाचारका मुद्धामा चुप नलाग्ने स्पष्ट पार्नुभयो ।
“कांग्रेसका महामन्त्रीहरु लगायत धेरै नेताहरुले भ्रष्टाचार सम्वन्धी धेरै मुद्धाहरुलाई उठाउदै आउनु भएको छ, त्यो आवाज सत्तामा गएकै कारणले बन्द हुने वा फेरिने हुदैन,” नेता शिवाकोटीले भन्नुभयो ।