काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले विद्युतको लाइन काटेर समस्या समाधान नहुने बताउनुभएको छ । उहाँले निजी क्षेत्रलाई लाइन काटेर ठप्प बनाएर राजस्व उठाउने कुरा उचित नभएको भन्दै सहमतिमा प्रयोग भएको बिजुलीको महसुल तिर्नुपर्ने र निजी क्षेत्रका उद्योगधन्दा पनि चल्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काटिएको लाइन जोडिएको बताउँदै उहाँले उत्तेजित भएर लाइन काटेर समस्याको समाधान नहुने दाबी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले निजीक्षेत्रलाई केही समय दिएर ताकेता गरेर महसुल तिर्न लगाउने निर्णयलाई विद्युत प्राधिकरणले अवज्ञा गरेर सरकारलाई असहयोग गरेको आरोप लगाउनुभयो । समस्या समाधानका लागि भन्दै सरकारले नै निर्णय गरिसकेपछि त्यसको पालना भएन भने सरकार हेरेर नबस्ने जिकिर गर्नुभयो ।
फरक प्रसंगमा उहाँले एमालेमा शिरदेखि तिरसम्म कुनै गुट नरहेको दाबी गर्नुभएको छ । उहाँले ११ औं महाधिवेशनसम्म पनि केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गर्दै विचार, नीति र नेतृत्वमा कुनै विमति नरहेकोले गुट हुने सम्भावना नै नरहेको जिकिर गर्नुभयो । विगतमा गुटबन्दीबाट ठुलो शिक्षा पाएको भन्दै अब त्यस्तो नहुने बताउनुभयो ।