काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले राजीनामाको प्रसंगलाई मिडियाले फेरि एकपटक बंग्याएर प्रकाशन–प्रशारण गरेको आरोप लगाएको छ।
फरक प्रसंगमा प्रधानमन्त्रीले राजीनामाको प्रसंग अभिव्यक्त गरेको तर मिडियामा त्यसको गलत व्याख्या गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले राजीनामा दिएर आफूले देशलाई धोका दिन नसक्ने अभिव्यक्ति दिनुभएको थियो।
अहिले राजीनामा दिनु भनेको देशलाई बरबादीतिर धकेल्नु रहेकोले आफूले कुनै हालतमा राजीनामा नदिने प्रधानमन्त्रीले बताउनुभएको थियो।
तर प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले फरक प्रसंगमा व्यक्त राजीनामाको प्रसंगको अपव्याख्या भएको बताउनुभयो।
मिडियाले राष्ट्रपति निवासमा भेटवार्ताका लागि गएपनि राजीनामा दिन पस्यो भनेर लेख्ने गरेको प्रसंगमा प्रधानमन्त्रीद्वारा व्यक्त विचारलाई असान्दर्भिक रुपमा प्रचार गरिएको उहाँको दाबी छ।
प्रधानमन्त्रीले हिजो आफूले कुनै हालतमा राजीनामा नदिने बताएपछि आज भएको भेटवार्ताका क्रममा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘तपाईँको राजीनामा कसले मागेको हो’ भनेर प्रश्न गर्नुभएको विषय बाहिर आएको छ।
प्रधानमन्त्रीको सचिवालयले राजीनामाको प्रसंगलाई मिडियाले तोडमोड गरेको आरोप लगाए पनि गत शनिबारको भेटमा प्रचण्डले ओलीलाई घुमाउरो ढंगले अब राजीनामा दिएर सहमतिको पालना गर्नुस् भनेको उच्च श्रोतले बताएको छ ।
प्रचण्डको उक्त मागपछि नै ओलीले राजीनामा नदिने अडान सार्वजनिक रुपमा व्यक्त गर्नुभएको प्रचण्ड समूहका नेताहरु बताउँछन् ।
प्रचण्ड–नेपाल समूहले ओलीले राजीनामा नदिए अविश्वासको प्रस्तावको तयारीका लागि हस्ताक्षर संकलन गरिरहेकोसम्मको सूचना प्राप्त भएको बालुवाटारको दाबी छ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराईले प्रचण्ड–नेपाल समूहमा ओलीलाई हटाउने अन्तिम तयारी भइरहेको सूचना प्राप्त भएको दाबी गर्नुभयो।
आफूविरुद्ध अविश्वासको प्रस्तावको तयारी भइरहेको थाहा पाएपछि नै ओलीले ‘त्यसो गर्नुभयो भने त्यसभन्दा ठूलो एक्सन लिन्छु, सामनाका लागि तयार रहनुहोला’ भन्दै प्रचण्डलाई चेतावनी दिएको श्रोेतको दाबी छ।
पार्टी निर्णयले हटाउन खोजे ओलीले लिन सक्ने सम्भावित कदमबारे पनि प्रचण्ड–नेपाल समूहले कानुन व्यवसायीहरुसँग छलफल गरेका छन्।
सत्ताबाट हटाउन खोजे ओलीले रातारात अध्यादेश ल्याएर पार्टी फुटाउन सक्ने र अर्काे संविधानमा प्रावधान नै नभए पनि संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसक्ने प्रचण्ड–नेपाल समूहको आशंका छ।
तर यी दुवै कदम संविधान, लोकतन्त्र र स्वयं ओलीकै लागि आत्मघाती ठहरिने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो।
प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद बैठकमा पनि ठूलो संकटको सामनाका लागि तयार रहन मन्त्रीहरुलाई निर्देशन दिनुभएको विषय बाहिर आएको छ।
आफ्ना विरूद्ध कोटेश्वरमा चलखेल भएको भन्दै त्यसलाई निस्तेज पार्ने चेतावनी समेत प्रधानमनत्रीले दिनुभएको छ ।
कोटेश्वर तत्कालीन माओवादीको पार्टीकार्यालय र वरिष्ठ नेता माधवकुमार नेपालको घर रहेको क्षेत्र हो । कोटेश्वरमा आजै प्रचण्ड–नेपाल समूहले आफूनिकट कानुन व्यवसायीहरुसँगा छलफल गरेको छ।