काठमाडौं । नेपाली कांग्रेसका नेता उदय शमशेर जवराले स्थिर सरकारको लागि दुई ठुला दल कांग्रेस नेकपा र एमालेको समिकरण बनेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका जवराले वर्तमान सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्ने बताउँदै स्थिर सरकार र जनताको लागि अहिलेको सरकार बनेको दाबी गर्नुभयो ।
यस्तै, भ्रष्टाचारका फाइलहरु एमाले र कांग्रेस भएकै सरकारले खोलेको नेता जवराको दाबी छ । पुर्वगृहमन्त्री तथा रास्वपाकमा सभापति रवि लामिछानेले आफूले भ्रष्टाचारका फाइल खोलेर काम सुरु गर्दा सरकार ढालिएको आरोप लगाउँदै आइरहनुभएको छ भने भ्रष्टाचारका प्रकरणहरू आफ्नै कार्यकालमा खोलिए पनि जस नचाहिने तर्क गर्नुभएको छ ।
यता, जवराले भने अहिलेसम्मका कुनै पनि सरकार एमाले या कांग्रेसबिनाको नभएकाले यी दुई दल भएकै सरकारले फाइल खोलेको स्पष्ट पार्नुभयो । यस्तै राजदूत सिफारिसमा विज्ञताभन्दा पार्टी निकटलाई प्राथमिकता दिइयो भन्ने आरोपमा उहाँले निकट नभएर योग्यलाई दिइएको बताउनुभएको छ ।
विभिन्न १८ देशमा सिफारिस गरिएका राजदूतहरूमा अधिकांश विज्ञभन्दा पनि पार्टीका कार्यकर्ता भन्दै विभिन्न किसीमका टिकाटिप्पणी भइरहेको छ ।
यहि प्रसंगमा उहाँले पार्टीका कार्यकर्ता नभएर शुभचिन्तक र योग्य व्यक्ति भएरै सिफारिस गरिएको जिकिर गर्नुभयो ।
सिफारिस गरिएका राजदूतहरूमा अधिकांश नेपाली कांग्रेस र एमालेनिकट छन् । एक जना रिता धिताल मात्र परराष्ट्र मन्त्रालयमा कार्यरत कर्मचारीको तर्फबाट सिफारिस हुनुभएको छ । उहाँ परराष्ट्रकी सहसचिव हुनुहुन्छ ।