काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई प्रधानमन्त्रीले संघीय सरकार मातहत नै सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ ।
सोमबार मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले तयार हुन नपाउँदै धरहराको पार्किङ महानगरपालिकाले खुला गरेकामा असन्तुष्टि जनाउनुभयो। ओलीले निर्माणाधीन अवस्थामा नै २२ तले मूल टावर बनिसकेको भन्दै ११ वैशाख २०७८ मा धरहराको उद्घाटन गर्नुभएको थियो । ।
आफ्नै पहलमा ‘मै बनाउँछु मेरो धरहारा’ अभियान सुरु गरेर ३६ करोड रुपैयाँ संकलन गरिएको भन्दै प्रधानमन्त्री ओलीले त्यसमा मकै पोलेको पैसा र साग बेचेको पैसा पनि रहेको बताउनुभयो ।
हाल पुनर्निर्मित धरहरा क्षेत्रको अधिग्रहणसहित सञ्चालन र भूमिगत पार्किङको परिकल्पना आफ्नै भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले धरहरा चढ्न सरकारले खुला गरिहाल्नुपर्ने बताउनुभयो ।