काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिने भएको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिन लागेको बताउनुभयो ।
‘उहाँले बाम एलायन्सलाई जोगाउँछु भन्नुभएको थियो,’ आङ्बोले भन्नुभयो, ‘पार्टी अध्यक्ष प्रचण्डले पनि मुख्यमन्त्रीले चाहेसम्म सरकारमा रहनु भन्ने प्रस्ट निर्देशन दिनुभएको थियो । तर, अहिले सहमतिको सरकार गठन गर्ने कुरा सम्भव नभएपछि सरकारबाट बाहिरिने भएका हौँ ।’
यद्यपि मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि अब राष्ट्रिय सहमतिको सरकार नबन्ने भयो भनेपछि आफूहरूले सरकारबाट बाहिरिने निर्णय गरेको आङ्बोले बताउनुभयो । यद्यपि लामो समयसम्म समर्थन नदिने प्रस्ट पार्दै उहाँले उपधारा ५ अनुसार बनेको सरकारको समर्थन लिँदा सबै सांसदहरू भेला हुनुपर्ने भएको कारण पछि धकेलिएको आङ्बोले बताउनुभयो । अब माओवादीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो ।
केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।
कोशी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थ्यमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायणबहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा वन्दना झाँगर राज्यमन्त्री छन् ।