काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले मुलुक अब भ्रष्टाचार र अराजकताको भुमरिबाट मुक्त बन्ने बताउनुभएको छ । दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणमा बनेको सरकारले भ्रष्टाचार र बेथिती अन्त्य हुनेगरी काम गर्ने नेता थापाको विश्वास रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले अब आसा र विश्वास गर्ने ठाउँहरु प्रसस्तै भएकाले जनता निराश हुन नपर्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (भोलि) ६ गते संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । यता माओवादी, नेकपा एस र रास्वपाले भने विश्वासको मत नदिने बताइसकेको छ तर ६३ मत विपक्षी बन्दा अलिकति पनि असर नपर्ने दाबी गर्दै नेता थापाले यी तीन दलहरु सिद्धान्त मिलेर नभइ स्वार्थका लागि एक ठाउँ उभिएको आरोप लगाउनुभयो । जनताको विश्वास पाएको वर्तमान सरकार बलियो र मजबुत भएको पनि उहाँको दाबी छ ।
यस्तै, सहकारी संसदीय छानबिन विशेष समितिका संयोजकसमेत रहनुभएका थापाले छानविन व्यापक रुपमा भइरहेकाले दोषी उम्किन नपाउने र निर्दोष कारबाहीको दायरामा नपर्ने बताउनुभयो ।
पीडित, सरोकारवाला व्यक्तिलगायतसँग छलफल गरिसकेको समितिले प्रमाण, तथ्यपरकका आधारमा निर्वतमान गृहमन्त्री, मन्त्री, नेता तथा सांसद जुन पदका व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याइने उहाँले स्पष्ट पार्नुभएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा निवर्तमान गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाम जोडिएको छ ।
सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ र तोकिएकै समयभित्र आफूहरुले काम सक्ने नेता थापाले बताउनुभयो ।