काठमाडौं । जनमत पार्टीका नेता अब्दुल खानले वर्तमान सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलले पूर्णता पाइसकेकाले सरकारले अब कामहरु छिट्टै शुरु गर्नपर्नेमा नेता खानले जोड दिनुभयो ।
काम गर्छौ भनेर भाषण गर्ने र जनतालाई निरास गराउने पूरानो प्रवृती अहिलेको सरकारले तोड्ने समेत उहाँको विश्वास रहेको छ । नयाँ गठबन्धनमा आवद्ध रहेको दल जनमत ओली नेतृत्वको मन्त्रीमण्डलमा भने सहभागी भएको छैन ।
गठबन्धनमा हुनासाथ मन्त्रीमण्डलमा हुनै पर्छ भन्ने अनिवार्य नभएको तर्क गर्दै नेता खानले नेपाली कांग्रेस र एमाले सकारात्मक भएकाले ढिलोचाँडो आफ्नो दल सहभागी हुने भने स्पष्ट पार्नुभयो ।
मधेश प्रदेशमा जनमतकै नेतृत्व रहेको छ भने वर्तमान सरकारबीच पनि ६ प्रदेशमा भागबण्डा गरेर मधेशमा मधेशकेन्द्रित दललाई नै नेतृत्व दिने सहमति भइसकेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुर्वमन्त्रीसमेत रहनुभएका खानले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बताउनुभएको छ । आगामी आइतबार प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ ।