काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय क्यापस कृतिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले सुरु गरेको विश्वविद्यालय विमर्श कार्यक्रम प्रशंसनीय भएको छ ।
विभिन्न बुझाइ र विचारहरूको मन्थनबाट साझा तथा परिस्कृत धारणाको विकास गरि समसामयिक बस्तु स्थितिलाई चित्रण गर्दै उपयुक्त समाधानको पाटोसम्म पुर्याउने उद्देश्यले विश्वविद्यालय विमर्श कार्यक्रम सुरु गरिएको स्ववियु सभापति श्यामराज ओझाले बताउनुभयो ।

हरेक कार्यक्रममा सहभागीता बढ्दै गएको र सहभागी हुन नपाएकाहरुले पनि नमुना, सृजनात्मक र प्रशंसनीय कार्य गरेको भन्दै प्रोत्साहन गर्नु भएकाले कार्यक्रमलाई थप परिस्कृत गर्दै लैजान थालिएको उहाँले बताउनुभयो ।
हाल विभिन्न क्षेत्रमा देखिएका वैचारिक र व्यावहारिक असमानतालाई स्पष्ट पार्दै वैचारिक एकता र सहमतिको बाटो तयार गर्ने हेतुले २०८१ सालको वैशाख ७ गतेदेखि हरेक हप्ता शुक्रबार बेलुकी ४:३० बजे त्रिवि घडीभवन अगाडि विश्वविद्यालय विमर्श सुरु गरीएको सभापति ओझाको भनाई छ।
राष्ट्रिय स्रोत साधन, जनशक्ति, ज्ञान, सीप, क्षमता, दक्षता र अनुभवलाई प्रयोग गरि देशलाई आत्मनिर्भर बनाउने आधार तयार गर्न अहिले देखिएका निराशालाई आशामा परिणत गर्न विश्वविद्यालय विमर्शले महत्वपूर्ण भूमिका खेल्ने स्ववियु उपसभापति अनोज कार्कीले विश्वास व्यक्त गर्नुभयो ।
विचार विमर्शको माध्यमबाट विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउन, सम्बन्धित निकायलाई कर्तव्य बोध गराउन, विश्वविद्यालय भित्र आइपर्ने समस्याहरूलाई समाधानको माध्यमबाट निष्कर्षमा पुर्याउन विश्वविद्यालय विमर्शले सहयोग गर्ने स्ववियु कोषाध्यक्ष पद्यमा भुसालको आशा छ ।
स्ववियु सदस्य ई.अग्निप्रसाद शर्माका अनुसार हाल सम्म जम्मा ११ वटा विभिन्न शीर्षकहरुमा विश्वविद्यालय विमर्श भइसकेको छ । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री डा। भिम रावल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल, रशायन शास्त्र केन्द्रीय विभागका सहप्राध्यापक तथा नेपाल केमिकल सोसाइटीका महासचिव डा. अच्युत अधिकारी, विभिन्न संकायका डिन तथा विभिन्न विभागका प्रमुखहरूलगायतसँग विचार विमर्श गरिसकिएको छ ।
डा. अधिकारीसँगको विचार विमर्श विज्ञान प्रविधि र अनुसन्धान शिर्षकमा केन्द्रीत थियो । पाकिस्तानको कराँची विश्वविद्यालयमा लामो समय प्राध्यापन गर्नु भएका र विश्वका धेरै विश्वविद्यालयमा अतिथि प्राध्यापकको रुपमा प्राध्यापन गर्दै आउनु भएका डा अधिकारीले अन्य देशको तुलनामा नेपालमा अध्ययन अनुसन्धानको क्षेत्र हेपिएको र प्राथमिकतामा पर्दै नपरेको अनुभव सुनाउनुभयो ।
उहाँले अध्ययन अनुसन्धानलाई महत्व र प्राथमिकता नदिनु पनि नेपाल पछाडि पर्नुको एउटा मुख्य कारण रहेको तर्क गर्नुभयो । अध्ययन अनुसन्धानमा सरकारले लगानी गरेमा आर्थिक, सामाजिक र मनोवैज्ञानिक पक्षबाट दिर्घकालीन फाईदा लिन सक्ने उहाँको धारणा छ ।