काठमाडौँ –प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहमतिका लागि आव्हान गर्नुभएको छ। ओलीले दाहाललाई टेलिफोन गर्दै संवादमा आउन आग्रह गर्नुभएको हो।
शनिबार दुई अध्यक्षबीच भएको वार्तामा ओलीले मिलेर जान नसकिएकाले पार्टीलाई सहमितमै विभाजन गरौँ भनेर प्रस्ताव गरेको विषय बाहिर आएको थियो। आफूसहित ६ जना सचिवालय सदस्यहरुको भेला गराएर प्रचण्डले प्रधानमन्त्रीबाट पार्टी फुटाउने प्रस्ताव आएको बताउनुभएको थियो।
प्रधानमन्त्रीले प्रचण्डलाई उक्त प्रस्ताव गरेको बालुवाटारले घुमाउरो ढंगले स्वीकार गरेको थियो । तर त्यसको दुई दिनपछि प्रधानमन्त्री ओली आफैले प्रचण्डलाई फोन गरेर सहमतिका लागि आव्हान गर्नुभएको हो ।
नेकपाका नेता देवेन्द्र पौडेलले दुई अध्यक्षबीच टेलिफोनमा खबर आदान प्रदान भएको बताउनुभयो । फोन संवादमा ओलीले प्रचण्डलाई सहमति गरेरै पार्टी र सरकारलाई अघि बढाउन आग्रह गर्नुभएको नेता पौडेलले बताउनुभयो ।
जवाफमा प्रचण्डले अब दुई अध्यक्षबीच मात्रै संवाद भन्दा पनि पार्टी कमिटिका बैठकहरु डाक्नुपर्ने अडान लिनुभएको थियो । सोमबार ओली र दाहालबीच यो टेलिफोन संवाद भएपनि त्यसयता उनीहरुबीच वार्ता र छलफलका लागि अरु कुनै सुरसार चलेको छैन ।
नेतृ अष्टलक्ष्मी शाक्यले अब दुई अध्यक्षबीचको सहमतिले मात्रै पार्टीलाई निकास नदिने बताउनुभयो । उहाँले सके जतिका सबै गल्ती गर्ने अध्यक्ष ओलीले अब अर्का अध्यक्ष दाहाललाई तपाईँ र मिलेर जाऔँ भनेर मात्रै संकटको समाधान ननिस्कने बताउनुभयो । पार्टी कमिटिको बैठक डाकेर ओलीले माफी नै माग्नुपर्ने उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद पुनर्गठन, कर्णाली विवाद, सरकारका विभिन्न नियुक्ति लगायत विषयमा ओलीले एकलौटी गर्न खोजेपछि नेकपामा फेरि कटुता उत्पन्न भएको हो । विवादकै बीच अहिले दुवै समूहले एक अर्कालाई पार्टी फुटाउन खोजेको आरोप लगाइरहेका छन् ।
केपी ओली संरक्षक हुने गरी पार्टीका नेता प्रदीप नेपाललाई पुनर्गठित नेकपा एमालेको अध्यक्ष बन्न ओलीका सल्लाहकारसहित विश्वासपात्रहरुले गोठाटारस्थित घरमै पुगेर आग्रह गरेको चर्चा पनि राजनीतिक वृत्तमा चुलिएको छ ।
तर उपप्रधानमन्त्री इश्वर पोखरेलले मानिसको दिमागलाई विशाक्त बनाउने बाहेक यी हल्लाहरुको अरु कुनै प्रायोजन नरहेको जिकिर गर्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले विशाक्त हल्लाहरु भने पनि ओलीका विश्वासपात्रहरु गोठाटारस्थित निवासमै पुगेर नेता प्रदीप नेपालसँग छलफल गरेको विषय सत्य हो ।
तर त्यहाँ भएको कुराकानीको स्वतन्त्र सत्यता के हो त्यसबारे समयक्रमले बताउने नै छ । उनै नेता नेपालको घरमा वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेर छलफल गरेको विषय बाहिर आएपछि नेपालको राजनीतिक सरगर्मी झनै बढ्न थालेको छ ।