काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामक संस्थाले आज पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ ।
कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहान र हन्ड्रेड ग्रुपले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् ।
खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न चेतावनी दिएको छ ।
तर, रोजगारी गुमाएर हातमुख जोर्न समस्या भएकाहरुलाई सरकारले विकल्प नदिएसम्म आफूहरुको काम जारी रहने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले बताउनुभयो । आज बिहान करिब तीन सय जनालाई निःशुल्क खाना खुवाएको उहाँले जानकारी दिनुभयो ।