काठमाडौं। हिजो सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजालाई लिएर अहिले विभीन्न टिकाटिप्पणी सुरु भएका छन्। सरोकारवालाहरूले चिन्ता र चासो व्यक्त गरेका छन्। किनकी यो बर्ष पास हुने भन्दा फेल हुने विद्यार्थी धेरै भए।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ५२.१३ प्रतिशत विद्यार्थी ‘एनजी’ अर्थात अनुत्तीर्ण भए भने ४७.८७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। यो नतिजाले विद्यार्थी तथा अभिभावकको मात्रै नभई समग्र शिक्षा प्रणालीमा नै असर पर्ने देखिएको छ।
अहिलेको नतिजाले शिक्षामा गरिएको लगानी खेर गएको छ। ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको शिक्षा प्रणाली नै असफल भएको टिप्पणी हुन थालेको हो। शिक्षाविद् डा. विद्यानाथ कोइरालाले एसइईको नतिजा कमजोर आउनुमा पहिलो दोषी शिक्षक भएको बताउनुहुन्छ।
पढाउने शैली पूरानै हुनुका कारण नै नतिजा कमजोर आएको उहाँको भनाई छ।शिक्षकहरुमा विद्यार्थीको रुची केमा छ र कसरी पढाउँदा सहजरुपले बुझ्न सक्छन् भन्ने कुरामा चिन्तन नै नभएको तर्क कोइरालाको छ।
नेता र मन्त्रीहरु पार्टी, पदकै पछि लागिपर्ने र शिक्षाक्षेत्रमा नजर नलगाउने आरोप लगाउँदै उहाँले नैतिक हिसावले सरकार पनि दोषी देखिएको आरोप लगाउनुभएको छ। यस्तैगरि विभीन्न नयाँ तरिकाहरु अपनाएर पढ्न र पढाउन उहाँले सुझाव दिनुहुन्छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठले शिक्षाको गुणस्तर सुधार अविलम्व हुनुपर्नेमा जोड दिनुहुन्छ। एसईईमा विद्यार्थी फेल हुनुमा पाठ्यक्रमदेखि लिएर शिक्षण सिकाइ पद्धति दोषी रहेको उहाँको भनाइ छ। उहाँले पाठ्यक्रममा पूर्ण रुपमा परिवर्तनको आवश्यक रहेकोमा जोड दिनुहुन्छ ।
पढाईको माहोल घट्दै गएको र विद्यार्थीले पनि पढ्नुपर्छ भन्ने नहँुदा यस्तो नतिजा आएको उहाँ स्वीकार गर्नुहुन्छ। शिक्षामा आमुल परिवर्तन नभए झनै दर्दनाक स्थिती आउने श्रेष्ठको भनाई छ।
गुणस्तरीय शिक्षाको नारा दिएर जति विद्यार्थी अनुत्तीर्ण गरिएको छ, यसले राज्यले विद्यार्थीमाथि भद्दा मजाक त गरिरहेको होइन भन्ने आशंका पनि पैदा भएको छ।समय सापेक्ष अरु मुलुकलाई हेरेर शिक्षामा अगाडि बढनुपर्नेमा श्रेष्ठको जोड छ।
अहिले एसईईको रिजल्टले शिक्षाको वास्तविक स्थिति देखिएको तर्क उहाँको छ।विद्यालय,शिक्षक र अभिभावकलाई एसईई रिजल्टले झक्झक्याएको बताउदै उहाँले अब कसैले कसैलाई दोष नदिएर पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार गरेर जान जरुरी रहेको बताउनुहुन्छ।
कक्षा १० को परीक्षाले शिक्षामा सरकारले गरेको लगानीको वास्तविक प्रतिफल उजागर गरेको छ। सरकारले कक्षा १२ लाई माध्यामिक तह मानेका कारण एसईई परीक्षा खारेजी गर्न पटक पटक आवाज उठ्ने गरेको छ। यसवर्ष देखि परीक्षामा गरिएको कडाईले विद्यार्थीको मनोभावनामा भने असर पार्ने देखिएको छ ।
विद्यार्थीको मनोवैज्ञानिक त्रास हटाउदै शिक्षा सुधारका लागि सरकारले प्रभाकारी योजना ल्याउन भने आवश्यक देखिन्छ। अर्कोतर्फ सरकारले सामुदायिक विद्यालयको स्तर बढेको भनेर जुन प्रकारको प्रचार गरिरहेको छ, त्यो भ्रम मात्रै रहेछ भन्ने सार्वजनिक भएको परिणामले देखाएको छ। त्यसैले अब नेपालको शिक्षा प्रणालीका बारेमा बहस गर्ने बेला आइसकेको छ।